जनता टाइम्स

२९ माघ २०८२, बिहीबार १४:५१

 क्षतिपूर्ति र कानुनी प्रक्रियामा सहकार्य गर्ने प्रशासनको प्रतिबद्धता पछि तामाकोसी दुर्घटनाका  मृतकका परिवारले शव बुझे, मन्थली नगरपालिकाले गर्याे राहत सहयोग 


रामेछाप, माघ २९। तामाकोसी नदीमा मंगलबार भएको भीषण बस दुर्घटनापछि रोकिएको पोष्टमार्टम प्रक्रिया प्रशासन र पीडित पक्षबिच सहमति जुटेपछि अघि बढाइएको छ। सहमतिपछि मृतकका परिवारजनले आज आफ्ना आफन्तको शव बुझ्नुभएको छ।

मन्थली नगरपालिका–६ क्षेत्रमा भएको उक्त दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मन्थली नगरपालिकाले तत्काल राहत स्वरूप जनही २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। आन्दोलनरत आफन्तसँगको छलफलमा स्थानीय प्रशासनले कानुनबमोजिम प्राप्त हुने सेवा–सुविधा उपलब्ध गराउने र थप राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेपछि वातावरण सहज बनेको हो।

छलफलमा सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेताहरू तथा बस कम्पनीका प्रतिनिधिहरू सहभागी रहेका थिए। प्रशासनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको नेपाल अरनिको यातायात सेवा प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।