काठमाडौं, फागुन १ । नेकपा एमालेका नेता तथा पर्वतबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरीले एमाले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि जनतासँग जोडिएर काम गर्ने पार्टी भएको बताउनुभएको छ।
उहाँले भूकम्प, कोभिडलगायत राष्ट्रिय संकटका बेला एमालेका नेता–कार्यकर्ता अग्रपंक्तिमा रहेर जनताको सेवामा खटिएको उल्लेख गर्नुभयो। ‘भूकम्पका बेला भत्किएका घर उठाउन अस्थायी टहरा बनाउन एमालेका नेता–कार्यकर्ता गाउँ–गाउँ पुगेका थिए,’ उहाँले स्मरण गर्नुभयो, ‘कोभिड महामारीका बेला अक्सिजनका सिलिण्डर बोकेर घर–घर पुग्यौँ, बिरामीलाई सुताउने बेडको व्यवस्था गरेर हामी नै खटियौँ।’

गिरीले देश संकटमा पर्दा अहिले मत माग्न आउने अन्य दलका नेताहरू कहाँ थिए भन्ने प्रश्नसमेत उठाउनुभयो। ‘भोलि उनीहरू जनतासँगै हुन्छन् भन्ने के ग्यारेन्टी छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘जिते भने जसोतसो पाँच वर्ष घिस्रिएलान्, हारे भने जनताको बीचमा पुग्छन् ?’
उहाँले जनतालाई दुःख पर्दा सबैभन्दा पहिले एमालेका नेता–कार्यकर्ता नै पुग्ने गरेको दाबी गर्नुभयो। ‘गाह्रो–साह्रो पर्दा एमालेकै नेताहरूलाई बोलाउनु पर्छ भन्ने विश्वास जनतामा बनेको छ,’ उहाँले भन्नुभयो।
उहाँले आसन्न निर्वाचनमा मतदातालाई आफ्नो मत सही ढंगले प्रयोग गर्न आग्रह गर्दै एमाले जनताको सुख–दुःखमा साथ दिने पार्टी भएकाले त्यसै अनुसार निर्णय लिन अपिल गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्