झापा, फागुन १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म झापा–५ मा सघन घरदैलो र मतदाता भेटघाट गरी काठमाडौं फर्किनुभएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै माघ २३ गते निर्वाचन क्षेत्रमा आइपुग्नुभएका उहाँले तीनवटा पालिकाका करिब ८० वटा टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको हो।
निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओलीले गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर मतदाताका सुभेच्छा, गुनासा र समस्या सुन्नुभएको छ।
दमक नगरपालिकाका १० वटै वडाका करिब ४० वटा टोलमा भने फागुन ४ गतेपछि अध्यक्ष ओली पुनः मतदाता भेट्न जाने कार्यक्रम रहेको बताइएको छ। ‘तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग अध्यक्षले प्रत्यक्ष संवाद गर्नुभएको छ, मतदातासँग भेटेपछि उहाँ उत्साहित भएर फर्किनुभएको छ,’ संयोजक दाहालले भन्नुभयो, ‘मतदाताले खुलेर प्रश्न गर्नुभएको छ, गुनासा राख्नुभएको छ, समस्या सुनाउनुभएको छ। राष्ट्र र राष्ट्रियताको पक्षमा अडान लिएकोमा धन्यवाद पनि दिनुभएको छ।’

कमल गाउँ कमिटीका अध्यक्ष हरी ढकालकालले अध्यक्ष ओली निर्वाचन क्षेत्रबाट टाढिने नेता नभएको दाबी गर्नुभयो। ‘२०७४ पछि प्रधानमन्त्री भएका बेला पनि उहाँ कम्तीमा दुई महिनामा एक पटक निर्वाचन क्षेत्रमा आउनुहुन्थ्यो,’ ढकालले भन्नुभयो, ‘यस पटक पनि भदौ २७ गते कार्यक्रम तय गरिएको थियो तर भदौ २३ र २४ गतेका घटनापछि परिस्थिति बदलियो।’
निर्वाचन परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार कमल गाउँपालिकाका ३० वटा टोलमा अध्यक्ष ओलीले भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा मतदाताले स्थानीय विकास, रोजगारी, शिक्षा र अस्पताल निर्माणका विषयलाई प्राथमिकताका रूपमा उठाउनुभएको उहाँले जानकारी दिनुभयो। ‘अधिकांश मतदाताले स्थानीय मुद्दा नै केन्द्रमा राखेर अध्यक्षसँग कुरा गर्नुभएको छ,’ गौतमले भन्नुभयो।
गौरादह–६ का मतदाता जयराम सापकोटाका अनुसार रतुवा खोलाको कटानबाट प्रभावित क्षेत्रका बासिन्दाले स्थायी तटबन्धन, पक्की तथा झोलुङ्गे पुल निर्माण र सुविधा सम्पन्न अस्पताल स्थापनाको माग राख्नुभएको छ। ‘स्कूलचौन–दामुना सडक पिच गर्न, रतुवामा तटबन्धन गरी बाढी–डुबानबाट जोगाउन र अस्पताल स्थापना गर्न आग्रह गरेका छौँ,’ सापकोटाले बताउनुभयो।

दामुना बजारका मतदाताले पार्टीभित्रका अन्तरविरोध मिलाउन, कार्यकर्तालाई जनतासँग जोड्न र सुशासनलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ। वडा नं. ६ का बासिन्दाले छ बुँदे मागपत्र लिखित रूपमा अध्यक्ष ओलीसमक्ष पेस गरेका छन्। एमाले वडा कमिटीका उपाध्यक्ष दुर्गा गनगाईंले दामुनाबाट सिंगियाडाँगी हुँदै सिंजुवा जाने सडक पिच गर्न, रतुवा खोलामा पक्की पुल निर्माण गर्न तथा कृषि उत्पादन बजारसम्म पुर्याउन सडक स्तरोन्नति गर्नुपर्ने माग राख्नुभएको छ।
गौरीगञ्ज गाउँपालिकाको सीमावर्ती देवानगञ्जका मतदाताले मोबाइल टावर जडान गर्न माग गरेका छन्। टावर नहुँदा भारतीय नेटवर्कमा निर्भर रहनुपरेको गुनासो स्थानीयवासीले व्यक्त गरेका छन्। स्थानीयले अध्यक्ष ओलीलाई गाउँमा पुनःपुनः आउन आग्रहसमेत गरेका छन्।

प्रदेश कमिटी सदस्य अमर शिवाकोटीका अनुसार अध्यक्ष ओलीले एकहप्तामा हजारौँ मतदातासँग प्रत्यक्ष भेट गर्नुभएको छ। ‘उहाँ प्रत्यक्ष रूपमा तथ्य बुझ्न चाहनुहुन्छ,’ शिवाकोटीले भन्नुभयो, ‘मतदाताले असन्तोषसमेत व्यक्त गरेका छन्, आफ्ना प्रतिनिधिलाई प्रश्न गर्ने अधिकार मतदातासँग हुन्छ र जवाफ दिने दायित्व प्रतिनिधिको हुन्छ, अध्यक्षले हरेक प्रश्नको जवाफ दिनुभएको छ।’
स्थानीय नेताहरूका अनुसार भदौ २३ र २४ गतेका घटनासम्बन्धी देखिएका केही भ्रमहरू पनि गाउँ–टोलको प्रत्यक्ष संवादबाट स्पष्ट पार्न सहयोग पुगेको छ।













प्रतिक्रिया दिनुहोस्