जनता टाइम्स

१ फाल्गुन २०८२, शुक्रबार १७:१०

तामाकोसी दुर्घटनाको प्रभाव : असुरक्षा देखाउँदै अरनिको यातायातले बन्द गर्याे मन्थली रुटमा चल्ने गाडी


रामेछाप, फागुन १। तामाकोसी क्षेत्रमा भएको भीषण बस दुर्घटनापछि पीडित परिवारसँग औपचारिक सम्पर्क र छलफलमा नआएको आरोप खेपिरहेको नेपाल अरनिको यातायात सेवा प्रा.लि. ले मन्थली रुट प्रयोग गरी सञ्चालन हुने आफ्ना सम्पूर्ण क्यूका बस सेवा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ।

कम्पनीले शुक्रबार जारी गरेको सूचनामा काठमाडौं–खुर्कोट हुँदै रामेछापको मन्थली जाने रुटमा सञ्चालन भइरहेका बसहरू ‘सुरक्षा जोखिम’ का कारण अर्को सूचना नआएसम्मका लागि रोकिएको उल्लेख गरेको छ। दुर्घटनास्थल रामेछाप मन्थली नगरपालिका–६, मसानटारलाई आधार बनाउँदै सेवा स्थगनको निर्णय गरिएको कम्पनीले जनाएको हो।

गत मंगलबार मन्थलीमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने सात जना यात्रु घाइते भएका थिए। तीन जना अझै बेपत्ता छन् । दुर्घटनापछि उद्धार, उपचार र क्षतिपूर्ति सम्बन्धी विषयमा पीडित पक्ष कम्पनीसँग संवादको अपेक्षामा रहे पनि कम्पनीका प्रतिनिधिहरू औपचारिक रूपमा सम्पर्कमा नआएको गुनासो स्थानीयस्तरमा उठिरहेको छ।

यस्तो अवस्थामा कम्पनीले सेवा नै स्थगित गर्ने निर्णय सार्वजनिक गरेपछि स्थानीयवासी तथा पीडित परिवार थप आक्राेसित भएका छन् । दुर्घटनाको नैतिक जिम्मेवारी वहन गर्नुको सट्टा सेवा रोकेर कम्पनि पन्छिन खोजेकाे छ ।

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल अरनिको यातायात सेवा प्रा.लि. अन्तर्गत काठमाडौँ–खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरी सञ्चालन हुने सम्पूर्ण क्यूका बसहरू सुरक्षा जोखिम (रामेछाप मन्थली न.पा.–६ मसानटार) दुर्घटनाका कारणले अर्को सूचना नआएसम्मका लागि हाललाई क्यूहरू स्थगित गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्ण व्यवसायी, मजदुर तथा कर्मचारीहरूमा जानकारीका लागि आदेशानुसार सूचित गरिन्छ।’

तर, दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिहरूका परिवारजनले भने कम्पनीले तत्काल पीडितसँग समन्वय गर्नुको सट्टा सेवा स्थगित गरी आफूलाई कानुनी र सामाजिक दबाबबाट जोगाउन खोजेको बताएका छन् ।  याे निर्णयसँगै काठमाडौं–मन्थली रुटमा आवतजावत गर्ने यात्रुहरू समेत प्रभावित भएका छन्। नियमित सेवा बन्द भएपछि वैकल्पिक यातायातको खोजीमा यात्रुहरू अन्य कम्पनीतर्फ मोडिन थालेका छन्।

उता, सुरक्षा निकाय र सम्बन्धित सरकारी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताएका छन्।  कम्पनीको पछिल्लो निर्णयले दुर्घटनापछिको उत्तरदायित्व र दायित्वबारे थप बहस सिर्जना गरेको छ।