सर्लाही, फागुन १। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नीति, नेतृत्व र दृष्टिकोणमा नवीन ढङ्गले अघि बढिरहेको बताउनुभयो।
सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उहाँले कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको दाबी गर्नुभयो । देश अब युवाहरूको काँधमा रहेको उल्लेख गर्दै उहाँले धनकौलमा देखिएको जेनजी पुस्ताको सक्रिय उपस्थितिले आफू उत्साहित भएको बताउनुभयो। ‘सधैँ अरूले भन्ने गर्थे, खै युवाहरू कहाँ छन् ? आज यहाँ युवाहरू देखेर धेरै खुसी लागेको छ’ उहाँले भन्नुभयो।
मधेसका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले मधेसको आधार सुदृढ बनाउन दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो। त्यसका लागि मतमार्फत कांग्रेसलाई जिम्मेवारी दिनुपर्ने उहाँको धारणा थियो।
उहाँले सर्लाहीका मुद्दाहरूलाई कांग्रेसको आगामी घोषणा पत्र तथा संकल्पपत्रमा समावेश गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो । देशको नेतृत्वका लागि कांग्रेस तयार रहेको दाबी गर्दै उहाँले ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार भइसकेको उल्लेख गर्नुभयो। ‘प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ, कार्यान्वयनको जिम्मा दिने अधिकार मतदातासँग छ,’ उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्