जनता टाइम्स

१ फाल्गुन २०८२, शुक्रबार १९:४१

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’बाट सम्मानित


काठमाडौं, फागुन १ । विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा जनआस्था साप्ताहिकका अध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार-२०८२’ बाट सम्मानित हुनुभएको छ ।

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ८० औं जन्मजयन्तीको अवसरमा वरिष्ठ पत्रकार श्रेष्ठलाई सम्मान गरिएको हो । भक्तपुरको सूर्यविनायकस्थित होटल भादगाऊँमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सम्मानपत्रसहित १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

पत्रकारितामा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले जनाएको छ । विश्व प्रेस काउन्सिलमा सक्रिय सहभागितामार्फत नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेको प्रालिको भनाइ छ ।

दवावा,प्रलोभन र चुनौतीका बीच सत्यको पक्षमा अडिग रहनसक्ने पत्रकारिता संस्कार निर्माणमा उहाँको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै प्रालिले प्रेस स्वतन्त्रता,आचारसंहिता तथा पत्रकारको पेशागत मर्यादासम्बन्धी विश्वव्यापी बहसमा नेपालको आवाज पुर्याउने श्रेष्ठलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताएको छ ।

सम्मानित श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन समाजवादी प्रेस संगठनका सल्लाहकार हुनुहुन्छ ।