जनता टाइम्स

४ फाल्गुन २०८२, सोमबार १२:४५

देशभर एमालेको विजय कसैले रोक्न सक्दैन : केपी शर्मा ओली


झापा, फागुन ४ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशव्यापी रूपमा नेकपा एमालेको विजयलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ।

आफूलाई भेट्न आउने समर्थक तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले आफूले मात्र मत दिएर नपुग्ने भएकाले आफ्ना आफन्त, छिमेकी र चिनजानका सबैलाई पनि एमालेमा मत हाल्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो।

सहकारीकर्मीहरूसँग भएको भेटघाटमा अध्यक्ष ओलीले आगामी निर्वाचनमा देशैभर एमालेको पक्षमा जनमत सिर्जना गर्न सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘पहिला आफू प्रष्ट हुनुहोस्, देशका लागि सोच्नुहोस्, सूर्य चिन्हमा मत दिनुहोस्, त्यसपछि आफ्ना आफन्त र छिमेकीलाई सम्झाएर एमालेमा मत हाल्ने बनाउनुहोस्।’

अध्यक्ष ओलीले आफूलाई भेट्ने धेरैले सहयोग गर्ने प्रतिबद्धता जनाउने गरेको उल्लेख गर्दै अब व्यवहारमा देखिने सहयोग आवश्यक रहेको बताउनुभयो। ‘मैले भेटेका धेरैजनाले हामी सहयोग गर्छौं भन्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘तर अहिले दुईवटा सहयोग गर्नुपर्छ—एउटा आफ्नो मत दिने र अर्को आफ्नाहरूको मत दिलाउने।’

उहाँका अनुसार कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत मतलाई मात्र पर्याप्त ठान्न नहुने र शानदार विजयका लागि संगठित रूपमा मत विस्तार अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘आफू र आफ्ना एकजुट भए देशैभर एमालेको विजयलाई कसैले रोक्न सक्दैन,’ उहाँले दृढताका साथ भन्नुभयो।

अध्यक्ष ओलीले निर्वाचनका बेला सबै पेशा र व्यवसायका मानिसहरू आफ्नो ठाउँबाट पार्टीको पक्षमा जनमत बढाउन सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले झापा–५ मा आफ्नो कार्यकालमा भएका विकास निर्माणका कामहरू नै आगामी निर्वाचन जित्ने प्रमुख आधार भएको जिकिर गर्नुभयो। ‘हाम्रो सरकार हुँदा बजेट विनियोजन गरिएका यस क्षेत्रका केही सडकहरूको बजेट हामी सरकारबाट हटेपछि काटियो,’ उहाँले भन्नुभयो, ‘जसले गर्दा यस वर्ष हुनुपर्ने कामहरू ठप्पै भए। तर यो अवस्था लामो समय रहँदैन।’

उहाँले विकासका कामहरू अवरुद्ध हुनु अस्थायी अवस्था भएको र एमाले पुनः सशक्त जनादेशका साथ सरकारमा फर्किएपछि ती योजनाहरू अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीले सहकारी अभियानको मूल उद्देश्य सानो बचत र सानै लगानीमार्फत जनताको आर्थिक अवस्था सुधार गर्ने रहेको स्मरण गराउँदै पछिल्लो समय केही व्यक्तिले त्यसको दुरुपयोग गरेको टिप्पणी गर्नुभयो। ‘जनताले गाँस काटेर बचत गरेको रकममा केही व्यक्तिले ठगी गरेका छन्, सहकारीहरू लुटिएका छन्,’ उहाँले भन्नुभयो, ‘आफ्नो सहकारीलाई पारदर्शी बनाउनुहोस्, जनताको आर्थिक स्थिति उकास्न सहयोग पुग्ने गरी लगानी गर्नुहोस्।’

देशको अर्थतन्त्रको महत्वपूर्ण आधार नै सहकारी क्षेत्र रहेको उल्लेख गर्दै उहाँले यसलाई विश्वासयोग्य र जनमुखी बनाउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष ओलीले राष्ट्रिय तथा स्थानीय विकासका एजेण्डाहरू जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन पनि आग्रह गर्नुभयो। ‘अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि ठीक छैन,’ उहाँले भन्नुभयो, ‘एमालेका विरुद्ध सबै एकजुट भएर लागेका छन्, हामीले यस्ता सबै घेराबन्दी तोड्न एमाले सक्षम छ भनेर पुष्टि गर्नुपर्छ।’

उहाँले पार्टीप्रति बढ्दो जनसमर्थनलाई संगठित शक्ति बनाउँदै देशव्यापी विजय सुनिश्चित गर्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ।