जनता टाइम्स

४ फाल्गुन २०८२, सोमबार १५:३०

आचारसंहिता उल्लंघन गरेपछि सेतोपाटी अनलाइनलाई कारबाही गर्न निर्वाचन आयोगको पत्र


काठमाडौं, फागुन ४। निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’विरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गरेको ठहर गर्दै आयोगले आवश्यक कारबाहीका लागि काउन्सिललाई औपचारिक अनुरोध गरेको हो।

आयोगले ‘सेतोपाटी’मा प्रकाशित ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकका समाचारप्रति आपत्ति जनाएको छ। आयोगका अनुसार ती सामग्रीहरू निर्वाचन आचारसंहिताको उल्लंघनमा पर्ने देखिएको छ।

पत्रमा उल्लेख भएअनुसार उक्त प्रकाशन निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) विपरीत रहेको जनाइएको छ। उक्त व्यवस्थाअनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामसम्बन्धी मत सर्वेक्षण गर्न, त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने उल्लेख छ।

त्यसैगरी, आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) अनुसार कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

आयोगले आफ्नो पत्रमा अनलाइनबाट गरिएको उक्त कार्य आचारसंहिताको उल्लंघन भएको देखिँदा आवश्यक कारबाहीका लागि निर्णयअनुसार अनुरोध गरिएको जनाएको छ। यस विषयमा ‘सेतोपाटी अनलाइन’को आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन। निर्वाचन अवधिमा सञ्चारमाध्यमले आचारसंहिता पालना गर्नुपर्ने विषय पुनः चर्चामा आएको छ।