जनता टाइम्स

४ फाल्गुन २०८२, सोमबार १६:१८

रास्वपा नेता भरत खनाल एमालेमा प्रवेश, झापा–५ मा ओलीको पक्षमा बढ्दाे जनलहर


दमक, फागुन ४ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा राजनीतिक समीकरण तीव्र रूपमा फेरिँदै गएको छ। यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा–५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) मा प्रवेश गर्नुभएको छ।

खनाललाई एमाले अध्यक्ष तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो। दमकमा आयोजित कार्यक्रममा खनालले देशको समृद्धि र स्थायित्वका लागि एमाले नै उपयुक्त विकल्प रहेको निष्कर्षसहित आफू पार्टी प्रवेश गरेको बताउनुभएको जनाइएको छ।

झापा–५ मा यस पटकको निर्वाचन विशेष चासोको केन्द्र बनेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख पदबाट राजीनामा दिएर बालेन्द्र साह (बालेन) सो क्षेत्रमा चुनावी प्रतिस्पर्धाका लागि पुग्नुभएको छ। रास्वपाले उहाँलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उतारेको छ।

बालेन्द्र साहले विभिन्न स्थानमा सवारी जुलुससहित प्रचार–प्रसार गर्दै युवा पङ्क्तिको साथ रहेको दाबी गरिरहनुभएको बेला रास्वपाका क्षेत्रीय तहका नेता एमालेमा प्रवेश गर्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले झापा–५ को चुनावी समीकरणमा नयाँ सन्देश दिएको छ।

एमाले अध्यक्ष ओली चुनावी अभियानमा सक्रिय भएपछि झापामा पार्टीको पक्षमा जनलहर बनेको एमाले नेताहरूको दाबी छ। स्थानीय कार्यकर्ताहरूका अनुसार ओलीविरुद्ध फैलाइएका ‘भ्रम’हरू क्रमशः चिर्दै मतदाता एमालेको पक्षमा उभिन थालेका छन्।

निर्वाचन आयोगले प्रचार–प्रसारका लागि अनुमति दिएको पहिलो दिन नै दमकमा ठुलो सङ्ख्यामा स्थानीय नागरिक भेला भएर एमालेको पक्षमा समर्थन जनाएका थिए। एमालेले यसलाई सकारात्मक सङ्केतका रूपमा लिएको छ।

एमाले नेताहरूले झापा–५ मा विगतमा भएका विकास निर्माणका काम, पूर्वाधार विस्तार र राष्ट्रिय राजनीतिक नेतृत्वको अनुभवलाई चुनावी आधार बनाएका छन्। उनीहरूको भनाइमा स्थायित्व, विकास र बलियो नेतृत्वका लागि मतदाता पुनः एमालेकै पक्षमा उभिनेछन्।

निर्वाचन मिति नजिकिँदै जाँदा झापा–५ मा प्रमुख दलहरूबिचको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। रास्वपा र एमालेबिचको प्रतिस्पर्धा हुने भनिएको सो क्षेत्रमा एमालेमा रास्वपाका नेता–कार्यकर्ताको पार्टी प्रवेश र जनसभाको उपस्थिति आगामी नतिजाको सङ्केतका रूपमा हेरिएको छ।

त्यसो त एमाले अध्यक्ष केपी ओलीले सो निर्वाचन क्षेत्रमा आफ्ना लागि कुने पनि प्रतिस्पर्धी विशेष प्रतिस्पर्धी नभएको बताउँदै आउनु भएको छ । आफ्ना लागि सबै प्रतिस्पर्धी समान भएको उहाँले प्रतिक्रिया दिँदै आउनु भएको छ ।