जनता टाइम्स

४ फाल्गुन २०८२, सोमबार १६:३४

यस्ता छन् सुनसरी -३ की एमाले उम्मेदवार भगवती चौधरीको प्रतिबद्धता


सुनसरी, फागुन ४ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले आगामी पाँच वर्षभित्र देश, निर्वाचन क्षेत्र र जनताको हितमा ठोस परिणाम दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनुभएकी चौधरीले ‘म पाँच वर्ष यी कार्यहरू गर्न सक्षम छु’ भन्ने उद्घोषका साथ आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको हो। उहाँले संविधानअनुसार जनप्रतिनिधिको जिम्मेवारी पूरा गर्दै विकास, सुशासन र समावेशितालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो।

देशका लागि स्पष्ट एजेण्डा

उम्मेदवार चौधरीले राष्ट्रिय तहमा कानुन निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ। नयाँ ऐन निर्माण, आवश्यक संशोधन तथा जनहितका कानुन संसदमा प्रस्ताव गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

त्यसै गरी सरकारका कामकारबाहीमाथि निगरानी राख्दै आवश्यक प्रश्न, बहस र छानबिनको मागमार्फत उत्तरदायित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय नीति, योजना र बजेट निर्माण प्रक्रियामा प्रभावकारी भूमिका खेल्ने र शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषय संसदमा सशक्त रूपमा उठाउने उहाँको योजना छ।

अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा संसदीय कूटनीति, अन्तर्राष्ट्रिय सम्मेलन तथा मैत्री समूहमार्फत नेपालको हित प्रवर्द्धन गर्ने उहाँले बताउनुभयो।

निर्वाचन क्षेत्रका लागि विकास प्राथमिकता

आफ्नो निर्वाचन क्षेत्र सुनसरी–३ को विकासलाई उच्च प्राथमिकतामा राख्दै चौधरीले सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चार पूर्वाधार विस्तारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यालय, क्याम्पस, अस्पताल तथा स्वास्थ्य चौकी स्थापना र स्तरोन्नतिका लागि पहल गर्ने उहाँको योजना छ। बाढी, पहिरो, भूमि समस्या र बसाइसराइजस्ता स्थानीय मुद्दा संघीय सरकारसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने बताउनुभयो।

संघीय बजेटमार्फत क्षेत्रका प्राथमिक परियोजनामा पर्याप्त रकम सुनिश्चित गर्न दबाब सिर्जना गर्ने तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरी दीर्घकालीन विकास योजना निर्माणमा अग्रसर रहने उहाँले उल्लेख गर्नुभयो।

जनताको आवाज संसद्सम्म

उम्मेदवार चौधरीले आफूलाई ‘जनताको आवाज’का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जनगुनासा, माग र आवश्यकतालाई संसद् तथा सम्बन्धित मन्त्रालयसम्म पुर्‍याउने, नियमित भेटघाट, सार्वजनिक सुनुवाइ र नागरिक संवादमार्फत सहज पहुँच कायम गर्ने उहाँको योजना छ।

महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा युवाका मुद्दा सशक्त रूपमा उठाउने र रोजगारी प्रवर्द्धनका लागि सीप विकास, उद्योग, कृषि र पर्यटन क्षेत्रमा नीतिगत सहयोग जुटाउने उहाँले बताउनुभयो।

सुशासन र संविधानप्रति प्रतिबद्धता

चौधरीले संविधानको रक्षा, सुशासन र पारदर्शितालाई आफ्नो राजनीतिक तथा नैतिक जिम्मेवारीका रूपमा लिने स्पष्ट गर्नुभयो। इमानदार, उत्तरदायी र जनमुखी भूमिकामार्फत लोकतन्त्रलाई मजबुत बनाउने तथा शान्ति र स्थिरताको पक्षमा दृढ रहने उहाँको प्रतिबद्धता छ।

‘जनताको विश्वास नै मेरो शक्ति हो,’ उहाँले भन्नुभयो, ‘आगामी पाँच वर्षमा परिणाम देखिने गरी काम गर्नेछु।’