जनता टाइम्स

६ फाल्गुन २०८२, बुधबार १०:२०

किशोरी बलात्कार पछि फरार सिन्धुलीको दुधौलीका नगरप्रमुख दिनेश अधिकारी पक्राउ


सिन्धुली, फागुन ६ । जबरजस्ती करणीको आरोप लागेपछि लामो समयदेखि फरार रहेका सिन्धुलीको दुधौली नगरपालिका का नगरप्रमुख दिनेश अधिकारी दनुवार पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दनुवार मङ्गलबार स्वयं प्रहरी कार्यालयमा उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । गत वैशाख महिनामा १७ वर्षीया किशोरीले अधिकारी विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी परेपछि अधिकारी फरार थिए।

प्रहरीका अनुसार आरोपित अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले कानुनअनुसार आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

अधिकारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित नगरप्रमुख हुन् ।

जाहेरीअनुसार ती किशोरी १७ वर्षकै उमेरमा करणीको सिकार भएकी थिइन् जसबाट शिशु जन्माएको छ ।  घटना सार्वजनिक भएपछि कानुनी प्रक्रिया अघि बढेको थियो।

आरोप प्रमाणित भएमा दनुवारलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार कडा सजाय हुने छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।