काठमाडौं, फागुन ६ । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउनुभएको छ।
उहाँले टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना तथा पार्टीका एजेन्डा प्रस्तुत गरिरहनुभएको छ। घरदैलो अभियानअन्तर्गत उहाँले स्थानीय बासिन्दाका गुनासा, सुझाव र समस्याहरू सुन्दै समाधानका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
टोखामा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले एमाले देश निर्माणको शक्ति भएको उल्लेख गर्नुभयो। “एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” उहाँले भन्नुभयो।
उहाँले कार्यकर्ता तथा समर्थकहरूलाई जनताको घरदैलोमा पुगेर पार्टीका नीति तथा कार्यक्रम स्पष्ट रूपमा राख्न आग्रह गर्नुभयो। फरक परिस्थितिमा हुन लागेको यो निर्वाचन देशको दिशानिर्देशनसँग जोडिएको उल्लेख गर्दै उहाँले देशलाई सही मार्गमा ल्याउन एमालेको जित आवश्यक रहेको औँल्याउनुभयो।
आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै नेता पोखरेलले काठमाडौं–५ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिरहनुभएको छ। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा ठोस पहल गर्ने प्रतिबद्धतासहित उहाँ मत माग्न व्यस्त रहनुभएको छ। घरदैलो अभियानसँगै काठमाडौं–५ मा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ।













प्रतिक्रिया दिनुहोस्