काठमाडौं, फागुन ६ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको घोषणापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल ध्येयसहित १० वटा दीर्घकालीन भिजन प्रस्तुत गरिएको छ ।कांग्रेसले यो घोषणापत्रलाई आगामी पाँच वर्षका कार्यक्रम मात्र नभई दीर्घकालीन राष्ट्रिय रूपान्तरणको खाका भएको दाबी गरेको छ । पार्टीले यो तत्कालै पूरा हुने प्रतिविद्धताहरूको सूची मात्र नभई नेपाली समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले रूपान्तरण गर्ने मार्गचित्र भएको प्रष्ट पारेको छ ।
‘सम्मानित भएर बाँच्न पाउने नेपाल’ : अधिकार र आत्मसम्मानको सुनिश्चितता
कांग्रेसको पहिलो भिजन ‘सम्मानित भएर बाँच्न पाउने नेपाल’ हो । यसअन्तर्गत प्रत्येक नागरिकको स्वतन्त्रता, पहिचान र स्वाभिमानको संरक्षणलाई सर्वोच्च प्राथमिकता दिइएको छ । जात, धर्म, लिङ्ग, वर्ग वा भूगोलका आधारमा हुने विभेद अन्त्य गर्दै समान अवसरको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।‘निमुखालाई ऐन र ठुलालाई चैन’ भन्ने मानसिकता अन्त्य गर्दै कानुनको शासन स्थापित गर्ने, शारीरिक, मानसिक र लैङ्गिक हिंसामुक्त समाज निर्माण गर्ने र कुनै पनि नेपाली देश–विदेशमा अपमानित नहुने वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
‘सपना देख सक्ने नेपाल’ : युवालाई स्वदेशमै भविष्य
दोस्रो भिजन ‘सपना देख सक्ने नेपाल’मा कांग्रेसले युवाको भूमिका र अवसरलाई केन्द्रमा राखेको छ । दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहमार्फत युवालाई स्वदेशमै सम्मानित अवसर सिर्जना गर्ने प्रतिबद्धता गरिएको छ ।विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई राष्ट्रनिर्माणमा जोड्ने, बिदेसिएका युवालाई ‘फर्कन रहर लाग्ने’ र स्वदेशमा रहेकालाई ‘यहीँ सुनौलो भविष्य देखिने’ वातावरण बनाउने उल्लेख गरिएको छ । कांग्रेसले राज्यलाई प्रवासी नेपालीको अभिभावकका रूपमा उभ्याउने दाबी गरेको छ ।
‘सम्पत्ति र रोजगारी सृजना’ : उद्यमशीलतालाई काँध थाप्ने राज्य
तेस्रो भिजनले लगानी, उत्पादन र रोजगारीलाई जोड दिएको छ । साना–ठुला सबै व्यवसायलाई प्रोत्साहन, श्रमिकको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र आर्थिक स्वच्छताको संस्कृतिलाई संस्थागत गर्ने लक्ष्य राखिएको छ ।कांग्रेसले वैध नाफालाई प्रोत्साहन गर्ने तर अवैध सम्पत्ति आर्जनलाई कडाइका साथ नियन्त्रण गर्ने नीति लिने जनाएको छ । आर्थिक रूपमा पछाडि परेका वर्गलाई पनि आयआर्जनका अवसरमार्फत सशक्त बनाउने योजना प्रस्तुत गरिएको छ ।
‘किसानको नेपाल’ : कृषि आधुनिकीकरण र ब्राण्ड निर्माण
चौथो भिजनमा कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि सारिएको छ । कृषि पेसालाई बाध्यता होइन, मर्यादित र आधुनिक रोजाइ बनाउने लक्ष्य राखिएको छ ।सिँचाइ, मल, बिमा र बजार सुनिश्चितता, उचित मूल्य निर्धारण, र नेपाली उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड’ बनाउने रणनीति घोषणापत्रमा समेटिएको छ । युवालाई कृषिमा आकर्षित गर्दै कृषि उद्यमशीलतालाई राज्यको साथ रहने प्रतिबद्धता गरिएको छ ।
‘ओखती र ओत दिने नेपाल’ : स्वास्थ्य मौलिक अधिकार
पाँचौँ भिजन स्वास्थ्य क्षेत्रमा केन्द्रित छ । गर्भावस्थादेखि वृद्धावस्थासम्म स्वास्थ्य सुरक्षाको जिम्मा राज्यले लिने उल्लेख गरिएको छ । ‘उपचार नागरिकको मौलिक अधिकार’ भन्ने मान्यताका आधारमा उन्नत स्वास्थ्य बिमा प्रणालीमार्फत औषधि र उपचार सुनिश्चित गर्ने योजना प्रस्तुत गरिएको छ ।कांग्रेसले रोग लाग्दा उपचार खर्चको भयबाट नागरिकलाई मुक्त गरिने दाबी गरेको छ ।
‘शिक्षा खर्च होइन, लगानी’ : गुणस्तरीय शिक्षामा समान पहुँच
छैटौँ भिजनमा शिक्षा क्षेत्रलाई राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानीका रूपमा व्याख्या गरिएको छ । आर्थिक अभावका कारण कुनै पनि बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने व्यवस्था गरिने बताइएको छ ।प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्म प्रविधि, प्रयोग र नवप्रवर्तनसँग जोडिएको शिक्षा प्रणाली विकास गर्ने, पोषण कार्यक्रमलाई शिक्षासँग एकीकृत गर्ने, तथा जीवनोपयोगी र मूल्यमा आधारित शिक्षा प्रणालीमार्फत विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य उल्लेख गरिएको छ ।
‘बेथिति र हैरानीमुक्त विधिको शासन’ : डिजिटल रूपान्तरण
सातौँ भिजनले सुशासन र विधिको शासनलाई जोड दिएको छ । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालयजस्ता संस्थामा दलीयकरण अन्त्य गर्ने, पारदर्शी नियुक्ति प्रक्रिया अपनाउने र प्रविधिमार्फत सेवा प्रवाहलाई सरल बनाउने योजना सार्वजनिक गरिएको छ ।‘डिजिटल नेपाल’को अवधारणा साकार पार्दै घरमै बसेर सरकारी सेवा प्राप्त गर्न सकिने प्रणाली विकास गर्ने र भ्रष्टाचार तथा ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
‘मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल’
आठौँ भिजनले नेपालको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधतालाई राष्ट्रिय शक्तिका रूपमा स्वीकार गरेको छ । भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आधुनिकतासँग सन्तुलन कायम गर्ने लक्ष्य राखिएको छ ।विश्व अर्थतन्त्र र ज्ञानसँग जोडिए पनि आफ्नै मौलिक पहिचानमा गर्व गर्ने नेपाल निर्माण गर्ने कांग्रेसको प्रतिबद्धता छ ।
‘विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल’
नवौँ भिजन परराष्ट्र नीतिमा केन्द्रित छ । सार्वभौमिक समानता, राष्ट्रिय हित र आपसी सम्मानमा आधारित सम्बन्ध विस्तार गर्ने नीति लिइने बताइएको छ ।नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र नभई जिम्मेवार र प्रतिष्ठित अन्तर्राष्ट्रिय सदस्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । नेपाली राहदानीलाई विश्वमा सम्मानित बनाउने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ ।
‘समुन्नतिमा लम्कने नेपाल’ : परिणाममुखी लोकतन्त्र
दशौँ भिजनले समग्र आर्थिक र पूर्वाधार विकासलाई केन्द्रमा राखेको छ । कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, खेलकुद र यातायात क्षेत्रमा तीव्र विकास, प्राकृतिक सम्पदाको संरक्षण र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।सरकारको सफलता सत्तामा टिकिरहनेमा नभई जनजीवनमा देखिने प्रत्यक्ष सुधारमा आधारित हुने उल्लेख गर्दै कांग्रेसले सामाजिक न्यायसहितको समुन्नति सुनिश्चित गर्ने दाबी गरेको छ ।नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रले लोकतन्त्र, सामाजिक न्याय, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानलाई एउटै सूत्रमा गाँस्ने प्रयास गरेको छ । ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै कांग्रेसले आफूलाई ऐतिहासिक उपलब्धिको निरन्तरता र नयाँ युगको रूपान्तरणकारी शक्तिका रूपमा प्रस्तुत गरेको छ । अबको निर्वाचनले यी १० भिजनप्रति जनताको विश्वास र मूल्याङ्कन कस्तो रहनेछ, त्यसले नै आगामी राजनीतिक दिशालाई तय गर्नेछ ।














प्रतिक्रिया दिनुहोस्