काठमाडौं, फागुन । नेकपा एमालेको किल्लाका रुपमा स्थापित जिल्ला दोलखामा फागुन २१ को निर्वाचनमा पनि सहज जीत निकाल्न नेताहरूले अभियान तीब्र बनाएका छन ।
एमालेले यसपटक पूर्वसञ्चारमन्त्री पार्वत गुरुङलाई नै उम्मेदवार बनाएपछि उत्साहित बनेका जिल्लावासीहरूबीच भेटघाटसँगै काठमाडौंमा रहेका मतदाता भेटघाट र छलफल पनि तीब्र बनेको छ । यही क्रममा बुधवार काठमाडौंमा बृहत दोलखाली युवा भेला गरी दर्जनौं युवाहरूलाई भित्र्याएको छ ।
कांग्रेसका शैलुङ, कालिञ्चोक, बिगू र गौरीशंकरका मतदाता रहेका काठमाडौंका युवाहरू कार्यक्रममा पार्वत गुरुङ नै दोलखाको लागि उत्कृष्ट उम्मेदवार भन्दै प्रवेश गरेका हुन । युवाहरूलाई उम्मेदवार गुरुङसहित एमाले नेता आनन्दप्रसाद पोखरेल, रचना खडकालगायतले स्वागत गर्नुभयो ।
भेलामा पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका एमाले नेता पार्वत गुरुङले दोलखाली मतदातालाई कहिल्यै धोका नदिने र शीर निहुरिने काम नगर्ने बताउनु भयो । एमालेले मात्र मुलुकलाई संकटमुक्त गराउन सक्ने भन्दै गुरुङले समृद्ध दोलखा निर्माण एमालेले मात्रै पूरा गर्न सक्ने तथ्य सुनाउनु भयो । नेता गुरुङले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने तथ्य पनि औंल्याउनु भयो ।

उहाँले पछिल्लो समय जनतालाई दिग्भ्रमित गराएर आफ्नो स्वार्थको रोटी सेक्न खोज्ने रास्वपाजस्तो पार्टीको भूममा कोही पनि पर्न नहुने बताउनु भयो । नेता गुरुङले आसन्न निर्वाचनमा आफूले राष्ट्रलाई समृद्ध बनाउने र दोलखामा आर्थिक क्रान्ति ल्याउने विषयलाई मुख्य एजेण्डा बनाएको जानकारी पनि दिनुभयो ।
‘एमालेले देशलाई संकटबाट बचाउने छ । समृद्ध नेपालः सुखी नेपाली बनाउने अभियानलाई यस चुनावले सहयोग गर्नेछ । जनतालाई दिग्भ्रमित गरेर देश बन्दैन,’ गुरुङले भन्नुभयो । देश बनाउने र युवाहरुको भविष्य सुनिश्चित गर्ने काम एमालेले मात्र गर्न सक्ने पनि उहाँको भनाई थियो । मुलुक बनाउन र युवाहरुको सपना पूरा गर्नका लागि जस्तोसुकै बलिदान गर्न आफू तयार रहेको पनि गुरुङले घोषणा गर्नुभयो ।
कार्यक्रममा करिव ५ दर्जन युवाहरू एमाले प्रवेश गरेका छन । कार्यक्रममा एमाले नेतृ रचना खडकाले एमालेको नीति मात्र नभई दोलखामा उम्मेदवार पनि सर्वाेत्कृष्ट रहेको बताउनु भयो । ‘पार्वत गुरुङजस्तो निस्कलंक उम्मेदवार दोलखामा अरु कोही छैन । कुनै कुरामा पनि नचुकेको उम्मेदवार पार्वत गुरुङ मात्रै हो भन्नेमा प्रमाण राखेर बहश गर्न सकिन्छ,’ खडकाले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्