जनता टाइम्स

७ फाल्गुन २०८२, बिहीबार ११:१४

फागुन ७ ले आधुनिक नेपालको यात्रा सुरु गर्‍यो : गगनकुमार थापा 


काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘फागुन ७ ले आधुनिक नेपालको यात्रा सुरु गर्‍यो’ भन्दै राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले २००७ सालको ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको उल्लेख गर्नुभएको छ । कात्तिक २६, २००७ देखि सुरु भएको आन्दोलनले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा समेत अग्रगामी मार्ग प्रशस्त गरेको उहाँको भनाइ छ ।

सभापति थापाले मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चालेको उल्लेख गर्दै प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जन–सहभागिताको आधार निर्माण भएको बताउनुभएको छ ।

उहाँले ०४६ को जनआन्दोलन र ०६२/६३ को आन्दोलन हुँदै संघीयता र गणतन्त्रसम्मको यात्राको जननी नै फागुन ७ को क्रान्ति भएको जिकिर गर्नुभएको छ । राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि भएका संघर्षहरूमा अनेकौं सपूतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको स्मरण गर्दै उहाँले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व र आर्थिक समृद्धिमार्फत मात्रै शहीदहरूप्रति सच्चा सम्मान प्रकट हुने विश्वास व्यक्त गर्दै उहाँले सबैलाई लोकतन्त्र सुदृढीकरणका लागि प्रतिबद्ध रहन आह्वान गर्नुभएको छ ।