जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १७:३४

परराष्ट्रमन्त्री ज्ञवालीको अग्रसरतामा ज्ञान प्राप्ति केन्द्र स्थापना गरिदै (निर्णयसहित)


काठमाडौं, वैशाख २७

सरकारले ज्ञान र विवेक उपयोगका लागि ज्ञान प्राप्ति केन्द्र (ब्रेन गेन सेन्टर) स्थापना गर्ने भएको छ । विशेषत विदेशमा रहनु भएका शिक्षित नेपालीहरुको ज्ञान र विवेक नेपालको विकासमा प्रयोग गर्नका लागि यो केन्द्र स्थापना गर्न लागिएको हो ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले केन्द्रमा आवद्ध हुन चाहाने नेपालीका लागि जानकारी माग गर्न गत मंगलबार सबै नेपाली नियोगमा पत्रचार गर्नुभएको छ । ‘ज्ञानको बजारमा भउको द्रुत विश्वव्यापीकरण र शिक्षित नेपालीहरुको उच्च प्रतिस्पर्धात्मक क्षमताका कारण नेपालले गएका केही दशकमा बढ्दो ज्ञान पलायन महसुस गरेको अवस्था छ’ विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभएको छ, ‘यसले बृहत नेपाली समाजलाई केही लाभ पैदा गर्ने भएतापनि मुलुकमा आवस्यक मानव पूँजीको परिपूर्तिमा कठिनाई भइरहेको छ।’

त्यसैले, ‘विश्वका विभिन्न स्थानमा रहेका नेपालीहरुमा के कस्ता क्षेत्रमा उच्चस्तरका सीप–क्षमता छन्, उनीहरुले मातृभूमिप्रति के कस्ता योगदान गरिरहेका छन्, उनीहरुको योगदानलाई थप संस्थागत र थप प्रभावकारी बनाउन के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने कुराको यकिन गर्दै मुलुकलाई आवस्यक जनशक्तिको पहिचान गरी उपयुक्त क्षेत्रमा परिचालन गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले ब्रेन गेन सेन्टर (बिजिसी) नामक अभियानको स्थापना गरिएको’ परराष्ट्र मन्त्रीको पत्रमा उल्लेख छ। यसका लागि मन्त्रालयले एउटा डाटावेस पनि बनाएको छ, जसले आफ्नो विज्ञताका सम्बन्धमा इच्छा अनुसारको सूचना अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउनेछ।