काठमाडौं, फागुन ८ । दाङको तुलसीपुरमा रवि लामिछानेका समर्थकले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको घटना सार्वजनिक भएको छ।
बिहीबार राति लामिछानेको स्वागतका लागि भेला भएका रास्वपाका समर्थकहरूले ‘सूर्य’ चिन्ह अंकित एमालेको झण्डा जलाउँदै नाराबाजी गरेका हुन्। घटनाका क्रममा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध समेत नाराबाजी गरिएको बताइएको छ।
घटनाप्रति एमाले नेतृ तथा केन्द्रीय सदस्य शान्ता चौधरीले कडा आपत्ति जनाउनुभएको छ। उहाँले झण्डा जलाउने कार्यलाई ‘अराजकताको पराकाष्ठा’ भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको हो। ‘यो अराजकताको पराकाष्ठा हो, समयमै चेत खुलोस्,’ चौधरीले उल्लेख गर्नुभएको छ।
उहाँले लोकतान्त्रिक अभ्यासमा आ–आफ्नो विचार र कार्यक्रम प्रचार गर्न पाइने भए पनि अर्काे दलको झण्डा जलाउने जस्ता गतिविधि स्वीकार्य नहुने बताउनुभयो। ‘चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो भन्दा अराजकता के हुन सक्छ ?’ उहाँले लेख्नुभएको छ।
घटनाबारे स्थानीय प्रशासनको धारणा भने सार्वजनिक भइसकेको छैन। जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला झण्डा जलाउने घटनाले राजनीतिक वृत्तमा थप बहस सुरु गरेको छ।













प्रतिक्रिया दिनुहोस्