काठमाडौं, फागुन ८ । उम्मेदवार छनोट प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वाग्मती प्रदेश उपसभापति एवं २०७९ सालमा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दिनेश हुमागाईँले पार्टी परित्याग गर्नुभएको छ।
उहाँले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाउनुभएको हो। आफ्नो राजीनामा पत्रमा गौतमले उम्मेदवार छनोट प्रक्रिया पार्टीको विधान, मापदण्ड र आन्तरिक लोकतन्त्र विपरीत सञ्चालन गरिएको आरोप लगाउनुभएको छ।
‘उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्र विपरीत सञ्चालन गरिएको देखिन्छ, वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ,’ उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ।
हुमागाईँले पार्टीले ‘चटकदार’ व्यक्तिहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाएको आरोप समेत लगाउनुभएको छ। ‘दुई–चार दिन अगाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका व्यक्तिहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ,’ उहाँले लेख्नुभएको छ।
उहाँका अनुसार पार्टीभित्र चाकडी र चाप्लुसी मौलाएको छ। ‘पार्टीले २०७९ को निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो, तर व्यवहारमा सीमित व्यक्तिहरू, माथिका नेताहरूलाई चाकडी गर्ने र वरिपरि घुम्ने पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको छ,’ उहाँले उल्लेख गर्नुभएको छ।
हुमागाईँले यस्तो चलखेलले भविष्यको संसद् ‘चटकदारहरूको थलो’ बन्ने खतरा औँल्याउनुभएको छ। ‘पार्टीले चयन गरेको चरम चलखेलले भोलिको नेपालको संसद् विकृत र अवसरवादी संरचनामा परिणत हुने स्पष्ट सङ्केत देखाएको छ,’ उहाँको धारणा छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट रास्वपाका उम्मेदवार बनेका हुमागाईँले १० हजार ५ सय ७३ मत प्राप्त गर्नुभएको थियो।
यसअघि रास्वपाकी मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा तथा नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी परित्याग गर्नुभएको थियो। शर्मा हाल नेपाली कांग्रेसमा प्रवेश गरिसक्नुभएको छ।
रास्वपा भित्र पछिल्ला दिनमा देखिएको असन्तुष्टि र नेतृ–नेताहरूको बहिर्गमनले पार्टीको आन्तरिक व्यवस्थापन र उम्मेदवार छनोट प्रक्रियामाथि थप प्रश्न उठाएको छ।













प्रतिक्रिया दिनुहोस्