बुटवल, फागुन ८ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदातालाई हस्तलिखित पत्रमार्फत सम्बोधन गर्दै विकास र समृद्धिलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभएको छ।
निर्वाचन क्षेत्रका मतदातालाई व्यक्तिगत रूपमा नाम लेखेर पत्र वितरण गर्दै उहाँले प्रचार अभियान सुरु गर्नुभएको हो। एमाले नेता युवराज घिमिरेका अनुसार घरदैलो अभियानकै क्रममा मतदाताको नाम उल्लेख गरी लिखित अपिल पुर्याउने अभियान सुरु गरिएको छ।
निर्वाचन परिचालन कमिटीको समन्वयमा सञ्चालन गरिएको उक्त अभियानमार्फत पौडेलले विगतका उपलब्धि, वर्तमान जिम्मेवारी र आगामी योजनाबारे विस्तृत धारणा सार्वजनिक गर्नुभएको छ। पत्रमा उहाँले सम्पूर्ण मतदाता तथा परिवारजनप्रति सम्मान व्यक्त गर्दै स्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको कामना गर्नुभएको छ।
उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासको दिशानिर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्नुभएको छ।
पौडेलले विगतमा मतदाताबाट प्राप्त विश्वासका आधारमा आफू निर्वाचित भई अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणलाई गति दिने तथा महामारी र आर्थिक चुनौतीबीच पनि स्थायित्व कायम राख्ने प्रयास गरेको दाबी गर्नुभएको छ। भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीपछिको आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ महामारीका बेला अर्थतन्त्र जोगाउने कार्यमा आफ्नो भूमिका रहेको उहाँले स्मरण गर्नुभएको छ।
रूपन्देहीलाई सम्भावनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ठूला पूर्वाधार आयोजना अघि बढाइएको पत्रमा उल्लेख छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया व्यापारिक करिडोर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थल लगायत आयोजना क्षेत्रको पहिचान बनेको उहाँको भनाइ छ। त्यस्तै, लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, प्रादेशिक अस्पताल, कृषि थोक बजार, सिद्धार्थ राजमार्ग स्तरोन्नति, बुटवल–नारायणगढ सडक विस्तार, पुल तथा करिडोर निर्माणजस्ता आयोजनाले समग्र क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्याएको उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले सुरु भइसकेका तर अपूरा रहेका आयोजना शीघ्र सम्पन्न गर्ने, नयाँ योजनाको थालनी गर्ने, औद्योगिक विकास विस्तार गर्ने तथा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा, स्वास्थ्य, उत्पादन र आयआर्जनका क्षेत्रमा रूपन्देहीलाई अग्रणी केन्द्र बनाउने योजना अघि सारिएको पत्रमा उल्लेख छ।
पौडेलले विकासलाई सामाजिक न्यायसँग जोड्दै समान अवसर, समावेशी सहभागिता र आत्मसम्मानसहितको समाज निर्माणमा जोड दिने बताउनुभएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो कार्यशैलीको मूल आधार बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
उहाँले आफूले अघि बढाएको विकास–समृद्धिको अभियानलाई निष्कर्षमा पुर्याउन पुनः जनसमर्थन आवश्यक रहेको उल्लेख गर्दै सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ। राष्ट्र निर्माण, आर्थिक रूपान्तरण र क्षेत्रीय समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ।
उहाँ आबद्ध दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि रूपन्देही–२ मा विकासको निरन्तरताका आधारमा चुनावी अभियान तीव्र बनाएको जनाएको छ। रूपन्देही–२ मा पौडेल ०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्