काठमाडौं, फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले झण्डा जलाएको दाबी गर्दै उक्त कार्यको घोर भर्त्सना गरेको छ ।पार्टीको केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा लाखौँ जनताको आस्थासँग जोडिएको ‘सूर्य’ चिन्हमा आगजनी गर्नु अराजक, उद्दण्ड आपराधिक कार्य भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘देश जलाउनेहरूले नै देश बनाउने पार्टीको झण्डा जलाएका हुन् भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ ।’
एमालेले आफ्नाे अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्द प्रयोग गर्दै नाराबाजी गरिनुका साथै महासचिव शङ्कर पोखरेलको गृह नगरमै यस्तो घटना हुनु राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको जनाएको छ ।
पार्टीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई ‘देश जलाउने र देश बनाउनेबीचको जनमत संग्रह’ का रूपमा व्याख्या गर्दै आएको सन्दर्भ उल्लेख गर्दै उक्त घटनालाई संयोग मात्र मान्न नसकिने बताएको छ । ‘देश जलाउने’ शक्तिबाटै एमालेको आस्थाको प्रतीक ‘सूर्य’ झण्डा जलाइनु गम्भीर राजनीतिक सन्देश बोकेको घटनाका रूपमा पार्टीले लिएको छ ।
एमालेले झण्डा जलाउने कार्यलाई निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन ठहर गरेको छ । लोकतन्त्रमा दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु स्वाभाविक र सुन्दर पक्ष भए पनि प्रतिस्पर्धाका नाममा प्रतिद्वन्द्वी दलको आस्थामा चोट पुर्याउने कार्य लोकतान्त्रिक मर्यादाभित्र नपर्ने पार्टीको भनाइ छ ।
विज्ञप्तिमा रास्वपाले भन्ने गरेको ‘नयाँ राजनीति’को मानक यस्ता गतिविधिबाट स्थापित हुन नसक्ने उल्लेख गरिएको छ । यस्ता हर्कतले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा धकेल्ने र चुनावी द्वन्द्व निम्त्याउने चेतावनी पनि एमालेले दिएको छ ।
एमालेले आफू अनुशासित र संयमित पार्टी भएकाले घटनाबाट उत्तेजित नभएको स्पष्ट पारेको छ । तर आफ्नो संयमता कमजोरी नभएको उल्लेख गर्दै कानुनी शासनको सम्मानका आधारमा झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
साथै, सरकार मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न असफल भइरहेको त होइन भन्ने प्रश्न पनि विज्ञप्तिमा उठाइएको छ । एमालेले निर्वाचन आयोगसँग सम्बन्धित दललाई तत्काल स्पष्टीकरण सोध्न र त्यसको जवाफ सार्वजनिक गर्न जोडदार माग गरेको छ ।
यदि घटनामा संलग्न दल र कार्यकर्तामाथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घटनाको जिम्मेवार सरकार, निर्वाचन आयोग तथा झण्डा जलाउने दल नै हुने एमालेले चेतावनी दिएको छ । विज्ञप्ति आम निर्वाचन २०८२ का प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी गरिएको हो ।














प्रतिक्रिया दिनुहोस्