जनता टाइम्स

८ फाल्गुन २०८२, शुक्रबार १७:०७

दाङमा एमाले झण्डा जलाएको घटनामा युवा संघ र नेसनल भोलेन्टियर फोर्सको कडा आपत्ति, माफी नमागे प्रतिवादमा उत्रने चेतावनी 


 

काठमाडौं, फागुन ८ । दाङमा नेकपा (एमाले) को पार्टी झण्डा जलाइएको घटनाप्रति एमाले निकट दुई जनसंगठनले कडा आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

राष्ट्रिय युवा संघ, नेपाल र नेसनल भोलेन्टियर फोर्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त घटनालाई अराजक, आपराधिक र लोकतान्त्रिक मर्यादाविरुद्धको गतिविधि भएको बताएका छन् ।

युवा संघका अध्यक्ष माहाराज गुरुङद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई पार्टी खोल्ने, सभा–समारोह गर्ने र संविधानसम्मत राजनीतिक गतिविधि सञ्चालन गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै लोकतन्त्रको नाममा अराजकता फैलाउने, समाज भड्काउने र राजनीतिको अपराधीकरण गर्ने गतिविधि अस्वीकार्य हुने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेकपा (एमाले) को झण्डालाई न्याय, परिवर्तन, प्रगतिशील रूपान्तरण, समावेशी लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा व्याख्या गरिएको छ । लाखौँ कार्यकर्ताको आस्था, त्याग र बलिदानले उचालिएको झण्डा च्यात्ने, जलाउने र पार्टी नेतृत्वप्रति भ्रमपूर्ण तथा कपोलकल्पित आक्षेप लगाउने कार्य अत्यन्त खेदजनक भएको विज्ञप्तिमा जनाइएको छ ।

संघले लोकतन्त्र अराजकताको पर्याय नभई मर्यादा, विधि र जिम्मेवारीको प्रणाली भएको उल्लेख गर्दै दाङमा घटाइएको उच्छृङ्खल गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सम्बन्धित पक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न स्पष्ट आग्रह गरिएको छ ।

यस्ता गतिविधि दोहोरिए राष्ट्रिय युवा संघ देशव्यापी सशक्त प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनी दिँदै संघले देशभरका मातहत कमिटीहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको जनाएको छ । राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि प्रयासलाई कडा जवाफ दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, नेसनल भोलेन्टियर फोर्सका प्रमुख कमाण्डर  पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पनि दाङमा रास्वपाले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गरिनुपर्ने उल्लेख गर्दै आगो र अराजकताबाट होइन भनिएको छ । झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्य लोकतान्त्रिक नभई अराजक मानसिकताको प्रतीक भएको जनाइएको छ । यस्तो प्रवृत्तिले राजनीतिक संस्कार मात्र होइन, सामाजिक सद्भावसमेत बिगार्ने खतरा उत्पन्न गर्ने फोर्सको भनाइ छ ।

फोर्सले घटनाको तत्काल छानबिन गर्न, राज्य संयन्त्र सक्रिय बनाउन र संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ । यदि यस्ता निर्वाचन विथोल्ने गतिविधिप्रति राज्य मौन बसे कानूनप्रति जनविश्वास कमजोर हुने चेतावनी दिँदै दोषीलाई कारबाहीको दायरामा नल्याइए सशक्त प्रतिवादमा उत्रने जनाएको छ ।

दुवै संगठनले लोकतान्त्रिक मर्यादा, विधिको शासन र राजनीतिक संस्कारको रक्षाका लागि अराजक गतिविधिविरुद्ध डटेर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।