जनता टाइम्स

८ फाल्गुन २०८२, शुक्रबार १७:३६

झापा–५ का सबै वडामा अध्यक्ष ओलीको पत्रसहित घरदैलोमा एमाले : फागुन २१ भाग्य निर्माणको दिन


दमक, फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरी पठाएको पत्र लिएर कार्यकर्ताहरू झापा निर्वाचन क्षेत्र नम्बर ५ का घरघरमा पुगेका छन् ।

क्षेत्र नम्बर ५ अन्तर्गतका २९ वटै वडामा एमालेले अध्यक्ष ओलीको हस्ताक्षरसहितको पत्र, पार्टीको प्रतिबद्धता पत्र तथा विभिन्न जनवर्गीय संगठनका छुट्टाछुट्टै प्रतिबद्धता पत्र लिएर घरदैलो अभियानलाई तीव्र बनाएको जनाएको छ ।

एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार क्षेत्रका प्रत्येक टोलका घरघरमा अध्यक्षको पत्रसहित कार्यकर्ता समूहगत रूपमा मतदातासँग भेटघाट गरिरहेका छन् । ‘निर्वाचन लक्षित घरदैलो अभियानका क्रममा अध्यक्षज्यूको सन्देश, पार्टीका प्रतिबद्धता र संगठनगत योजनासहित मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छौं,’ उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीको पत्रमा फागुन २१ गते हुने निर्वाचनलाई नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने महत्वपूर्ण दिनका रूपमा उल्लेख गरिएको छ । मतदातालाई उक्त दिन मतदानमा अनिवार्य सहभागिता जनाउन आह्वान गरिएको छ ।

पत्रमा मुलुक गम्भीर संकटको अवस्थामा रहेको उल्लेख गर्दै समाजभित्र एकताको आधार कमजोर पार्ने प्रयास भइरहेको दाबी गरिएको छ । एकै परिवारभित्र अभिभावक र सन्तानबीच सम्बन्धमा दरार ल्याउने प्रवृत्तिले क्रमशः परिवार, समाज र राष्ट्रलाई नै कमजोर बनाउने उल्लेख गरिएको छ । यस्तो अवस्थामा राष्ट्रिय निर्माण र एकताको सुदृढीकरणका लागि एमालेको पक्षमा मत दिन आग्रह गरिएको छ ।

घरदैलो अभियान अन्तर्गत दमक नगरपालिकाको वडा नम्बर ६ र ७ मा दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । बाँकी वडाहरूमा पनि अभियान अन्तिम चरणमा पुगेको जनाइएको छ । दमकका अन्य आठ वडाका विभिन्न टोलमा पनि समूहगत रूपमा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

अभियानमा केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा र टोल कमिटीका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरूको सहभागिता रहेको बताइएको छ । भूगोलअनुसार सबै संरचना परिचालन गरी मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गरिएको एमालेले जनाएको छ ।

यसैगरी सोही निर्वाचन क्षेत्रअन्तर्गत कमल गाउँपालिकामा पनि अभियान तीव्र पारिएको छ । गाउँकमिटी अध्यक्ष हरि ढकालका अनुसार वडा नम्बर ५ को सिम्ले क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । वडा नम्बर १ मा व्यक्तिगत भेटघाट, वडा नम्बर २ का देवीचौन र ज्योतिनगर क्षेत्रमा भेटघाट सम्पन्न भएको छ ।

त्यसैगरी फाल्गुनन्द, शान्ति र संगम टोलमा समूहगत घरदैलो कार्यक्रम गरिएको छ । वडा नम्बर ६ का मैनाखाता र मंगलवारे क्षेत्रमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ भने वडा नम्बर ७ का बाह्रघरे र झर्का क्षेत्रमा पनि घरदैलो कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिइएको छ ।

गौरादह नगरपालिकाका सबै वडामा पनि दिनभर विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन समितिका संयोजक गजेन्द्र घिमिरेले जानकारी दिनुभयो । पार्टीको क्षेत्रीय योजना अनुसार प्रत्येक वडाका सबै टोलमा भूगोलअनुसार घरदैलो कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकाका सबै वडामा पनि समूहगत रूपमा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । निर्वाचन लक्षित घरदैलो अभियान अधिकांश स्थानमा अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।

पार्टीले आगामी चरणमा थप संगठन परिचालन र केन्द्रित कार्यक्रममार्फत अभियानलाई अझ सशक्त बनाउने योजना रहेको बताएको छ । एमालेका अनुसार अध्यक्ष ओलीको पत्रमार्फत मतदातासँग प्रत्यक्ष भावनात्मक र राजनीतिक संवाद स्थापित गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको छ ।