काठमाडौं, फागुन ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका संस्थापक सदस्य तथा बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिनुभएको छ ।
उहाँले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो । चौधरी रास्वपाको मधेस प्रदेश संरचना निर्माणका क्रममा सुरुवातदेखि नै सक्रिय रहनुभएको थियो ।
राजीनामापत्रमार्फत उहाँले ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रेरित भएर आफू पार्टीमा आबद्ध भएको उल्लेख गर्नुभएको छ । वैकल्पिक राजनीतिक संस्कार र नयाँ पद्धति स्थापनाको आशासहित पार्टीमा जोडिएको तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको निर्णय र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि पैदा भएको उहाँको भनाइ छ ।
चौधरीका अनुसार आसन्न फागुन २१ गतेको निर्वाचन प्रक्रियासम्बन्धी पार्टीले अपनाएको पद्धति, निर्णय तथा कार्यशैली स्थापना कालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत देखिएको छ । पार्टीभित्र विधि र विधानभन्दा बाहिर गएर गतिविधि भइरहेको आरोप पनि उहाँले लगाउनुभएको छ ।
उहाँले संगठनमा सक्रिय रूपमा खटिएका सदस्यहरूको योगदानको उचित मूल्याङ्कन नभएको दाबी गर्नुभएको छ । मेहनत, समर्पण र संगठन विस्तारमा सक्रिय कार्यकर्तालाई बेवास्ता गरिएको र निर्णय प्रक्रिया पारदर्शी नभएको उहाँको आरोप छ ।
साथै, पार्टीका घोषित सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको भन्दै चौधरीले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले केही निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको दाबीसमेत गर्नुभएको छ । यस्ता गतिविधिप्रति मौन बसिरहन नसक्ने निष्कर्षमा पुगेर राजीनामा दिन बाध्य भएको उहाँले उल्लेख गर्नुभएको छ ।
रास्वपा भित्र आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक असन्तुष्टि सतहमा आएको छ । पार्टीका नेताहरूले पार्टी छाड्ने लहर नै चलिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्