जनता टाइम्स

९ फाल्गुन २०८२, शनिबार ०८:२८

कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा दुर्घटना : दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गयो


काठमाडौं, फागुन ९ । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)का अनुसार मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा सुप प्र०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ निवासी २२ वर्षीय हरिश ओली रहेका छन् । सोही मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् र उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सुप प्र०१–००९प७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ निवासी अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार अन्दाजी २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक चन्दले घटनास्थलको अवस्था हेर्दा मोटरसाइकल प्रतिघन्टा १०० किलोमिटरभन्दा बढी गतिमा चलाइएको देखिएको बताए । ‘पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन्, दुर्घटना अत्यन्तै भीषण देखिन्छ,’ उनले भन्नुभयो । उहाँका अनुसार योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भइसकेका थिए ।

प्रहरीका अनुसार मृतक ओली गोदावरी क्षेत्रमा आयोजित विवाह समारोहमा सहभागी भएर धनगढीतर्फ फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।