जनता टाइम्स

९ फाल्गुन २०८२, शनिबार ०९:११

शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई धक्का : अमरगढी नगर सचिव देवकी भट्टद्वारा पार्टी परित्याग


काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीलाई धक्का लागेको छ । अमरगढी नगर कार्यसमितिकी सचिव देवकी भट्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

भट्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रही सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्नुभएको छ ।

पारिवारिक विरासत र बाल्यकालदेखिको प्रजातान्त्रिक सोचका कारण कांग्रेससँग जोडिएको उल्लेख गर्दै उहाँले पार्टीको ऐतिहासिक योगदानप्रति गर्व व्यक्त गर्नुभएको छ । राणा शासनविरुद्धको आन्दोलनदेखि प्रजातन्त्र स्थापनासम्म कांग्रेसले खेलेको भूमिकालाई स्मरण गर्दै उहाँले बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत अग्रज नेताहरूको त्याग, समर्पण र निष्ठाबाट प्रेरित भएर राजनीतिमा लागेको उल्लेख गर्नुभएको छ ।

तर पछिल्लो समय पार्टीभित्र इमान्दार, लगनशील र योग्य कार्यकर्ताको उचित मूल्याङ्कन नहुने, चाकरी, चाप्लुसी, नातावाद र कृपावाद हाबी हुँदै गएको आरोप उहाँले लगाउनुभएको छ । यस्तो परिवेशमा पार्टी रूपान्तरण कठिन बनेको उहाँको भनाइ छ ।

उहाँले सुदूरपश्चिमका अग्रज नेता तथा कांग्रेसका पूर्वसभापति देउवाप्रति गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै त्यसले आफूलाई थप मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । राजीनामा घोषणा गर्दै भट्टले सामाजिक तथा राजनीतिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको छ ।

भट्टलाई देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवानिकट मानिन्छ । पछिल्लो समय डडेल्धुरामा कांग्रेस उम्मेदवार नैनसिंह महरले देउवालाई ‘बाइपास’ गर्दै विशेष महाधिवेशन पक्षधर समूहबाट टिकट ल्याएको आरोप लागिरहेको छ । सोही कारण देउवा दम्पती महरसँग रुष्ट रहेको चर्चा छ । पटक–पटकको प्रयासका बाबजुद पनि देउवाले महरलाई भेट नदिनुभएको बताइन्छ ।

डडेल्धुराजस्तो देउवाको राजनीतिक आधार क्षेत्रमै नगर तहकी जिम्मेवार पदाधिकारीले पार्टी परित्याग गर्नुले कांग्रेसको आन्तरिक व्यवस्थापन र उम्मेदवार चयन प्रक्रियामाथि प्रश्न उठाएको छ ।