काठमाडौं, फागुन ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ। ओली निर्धारित कार्यक्रमअनुसार आज दिनभर विभिन्न चुनावी तथा संगठनात्मक कार्यक्रममा सहभागी हुनुहुने छ।
उहाँले बिहान ११ बजे बिर्तामोडस्थित होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुहुने छ। उक्त भेटघाटमा आसन्न निर्वाचनको तयारी, संगठन सुदृढीकरण र मतदातासँगको समन्वयका विषयमा छलफल हुने जनाइएको छ।
त्यसपछि उहाँ दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ। सो कार्यक्रममा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग संवाद तथा आन्तरिक भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ।
चुनावी माहौल तातिरहेको बेला झापा क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीको यो भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ। गृहजिल्लामा उहाँको सक्रियता र प्रत्यक्ष भेटघाटले कार्यकर्तामा उत्साह थप्ने अपेक्षा गरिएको छ।
पार्टीका अनुसार आजका कार्यक्रममा संगठन विस्तार, निर्वाचन रणनीति र शैक्षिक क्षेत्रसँग सहकार्यका विषय मुख्य एजेन्डाका रूपमा रहनेछन्।













प्रतिक्रिया दिनुहोस्