काठमाडौं, फागुन ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने गरी गतिविधि भइरहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाँड्न खोजिरहेको बताएकाे छ ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत एमालेले चुनाव नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण सिर्जना भइरहेको उल्लेख गरेको छ। शान्ति–सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार असफल भएको आरोप लगाउँदै पार्टीले आफ्ना आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने तथा मूल नेतृत्वप्रति घृणा फैलाउने गतिविधि तीव्र भएको जनाएको छ।
एमालेले यस्ता गतिविधिलाई चुनावी द्वन्द्व निम्त्याउने गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गर्दै सरकार र सम्बन्धित निकायलाई जवाफदेही बन्न तथा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन माग गरेको छ।
विज्ञप्तिमा निर्वाचन घोषणा भएलगत्तै हजारौँ कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेको विषयमा आफूहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ। पछिल्लो समय अमुक दलका पक्षमा नाराबाजी गर्दै एमाले नेतृत्वविरुद्ध घृणा फैलाउने र सूर्य चिन्ह अंकित झण्डा जलाउने गतिविधिबाट आफ्नो पूर्वानुमान पुष्टि हुँदै गएको दाबी गरिएको छ।
एमालेले फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र जलाउनेबीचको जनमत संग्रह’ का रूपमा लिएको जनाएको छ। कथित ‘भोट फर चेन्ज’ अभियान असफल भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण परिणाम सार्वजनिक गर्ने र जनमत प्रभावित पार्ने प्रयास भइरहेको आरोप पनि विज्ञप्तिमा गरिएको छ।
चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि विभिन्न स्थानमा हिंसा भड्काउने तथा समुदायबीच अन्तरविरोध सिर्जना गर्ने प्रयास भएको एमालेको दाबी छ। रौतहटको गौरमा जारी कर्फ्यु आदेशलाई उदाहरणका रूपमा उल्लेख गर्दै यस्तो अवस्था स्वच्छ, भयरहित र निर्भीक मतदानका लागि उपयुक्त नभएको जनाएको छ।
यसैगरी, निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको दाबी गर्दै होली पर्वको अवसरमा दल विशेषका तस्बिर तथा चुनाव चिन्ह अंकित टिसर्ट वितरण गरिएको आरोप लगाइएको छ। यसप्रति निर्वाचन आयोग को उदासीनताप्रति एमालेले गम्भीर आशंका व्यक्त गरेको छ।
प्रेस संयोजक मीनबहादुर शाही द्वारा जारी विज्ञप्तिमा देशमा शान्ति–सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग पुनः आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्