जनता टाइम्स

९ फाल्गुन २०८२, शनिबार १७:१३

‘घन्टीमा भोट हालेर देश र आफ्नो भविश्य बर्वाद पार्ने कामको भागिदार कोही पनि नबन्नोस’


काठमाडौं, फागुन ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा घन्टीमा भोट हालेर नेतृत्वको असुली धन्दालाई साथ दिने काम नगर्न अपिल गरेका छन ।  देशभरका मतदातालाई सोची विचार गरेर मात्र मतदान गर्न आग्रह गर्दै रास्वपा देश बनाउन नभई देश डुवाउन र जनतालाई गुमराहमा राखेर असली धन्दा चलाउने मात्रै सोच रहेको खुलाए ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले चटकदार अनुहारभन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदातालाई आग्रहसमेत गरेका छन । देश हाल गम्भीर अवस्थामा पुगेको भन्दै उनीहरूले सामाजिक सञ्जालको भ्रमबाट बाहिर निस्केर सोचविचार गर्न अपिल गरे । उनीहरूले मतदान अघि रास्वपाको चटकदार कुरामा नफसेर अध्ययन–विश्लेषण गरेर मात्र भोट दिन आग्रह गरे ।

रास्वपा छाडनुभएका वागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशबोधका आधारमा मात्रै मत दिनुपर्ने बताउनु भयो । चुपचाप नभई धेरै अध्ययन गरेर मत हाल्न भन्दै हुमागाईंले बदमासहरूको अखडा बनेको नयाँ भन्नेहरूलाई नभई देशले निकास पाउने र स्थायी सरकार बन्ने गरी मत दिनुपर्नेमा जोड दिनुभयो ।

रास्वपाले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया पनि एकल रहेको, पुराना दललाई गाली गर्ने भन्दा कुनै नीति नरहेको र नेतृत्वमा जवाफदेहिता नभई अधिनायकवादी शैली प्रष्ट रहेको कारण आफूले पार्टी छाडेको भन्दै बताउनु भयो । नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोलनमाथि नै धोका हुन लागेको निश्कर्षसमेत उहाँले सुनाउनु भयो ।

‘फागुन २१ गतेको निर्वाचनमा रास्वपाका उम्मेद्वार जस्तो केही नगर्ने, केवल नौटंकी देखाउने चटकदारलाई मत हाल्ने होइन, राजनीतिक व्यक्ति, देश बुझेको व्यक्ति र समाज बुझेको व्यक्ति तथा पार्टी छान्नुहोस । चुपचाप फलानो छाप भन्ने होइन, धेरै अध्ययन गरेर मत हाल्नुस । दुईचार दिन सोचेर पनि हुन्छ । तर देशले निकास पाउनुपर्छ, स्थायी सरकार बन्नुपर्छ,’ हुमागाईंले भन्नुभयो ।

यस्तै प्रणय शमशेर राणाले रास्वपामा आन्तरिक लोकतन्त्र सून्य, अधिनायकवादी शैली नेतृत्वमा रहेको, संगठनात्मक पारदर्शिता पनि सून्य रहेको बताउनु भयो । ‘थितिको थालनी र वेथितिको अन्त्य’ भन्ने नारासहित स्थापना भएको पार्टी थितीबाहेक सवै काम गर्ने गरेको देखियो । उल्टो बाटोतर्फ गयो,’ राणाले भन्नुभयो । उहाँले उम्मेदवारी छनोट प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिए पनि असुलीमा ध्यान गएको र त्यसैअनुसारको व्यवहार भएको बताउनु भयो ।

राणाले थप्नुभयो, ‘थितिको थालनी, वेथितिको अन्त्य भनेको साढे तीन वर्षमै उल्टो भयो । थितिको अन्त्य र चरम वेथितिको थालनी रास्वपामा देखियो। पार्टी नेतृत्वले आफू अनुकूलको संगठन बनाउन थाल्यो। सम्पूर्ण पार्टी सदस्यलाई स्क्याम गरियो। संगठनको आधारमा प्राइमरी इलेक्सन हुन्छ भनियो, तर चुनावको मुखमा आएर नेतृत्व छान्ने अधिकार संगठनबाट खोसियो। सम्पूर्ण पार्टी स्क्याममा परेको छ।’

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले रास्वपालाई भोट हालेर देश र आफ्नो बर्वाद पार्ने कामको भागिदार नबन्न देशभरका मतदातालाई आग्रह पनि गर्नुभयो । पार्टीभित्र अपारदर्शिता बढ्दै गएको भन्दै बाहिर पारदर्शिताको कुरा गरिए पनि व्यवहार उल्टो देखिएको उहाँको भनाई छ । ‘जान्नेलाई छान्ने’ नारा उल्टो भयो, राम्रोबाहेक सवै काम गर्नेहरूको अखडा बन्यो, यस्तो देखेपछि मैले पार्टी नै छाडिदिएँ,’ शर्माले भन्नुभयो ।

उहाँले रास्वपामा इमान्दारिता, पारदर्सिता र देश बनाउने कुरा केही नभएको तथ्यले नै प्रमाणित गरिसकेको बताउनु भयो । शर्माले भन्नुभयो, ‘पार्टीले पारदर्शिताको कुरा गथ्र्यो, तर भित्र अपारदर्शिता धेरै देखियो । त्यसैले रास्वपामा लागेका साथीहरू दैनिक रूपमा पार्टी छाड्दै छन्।’