जनता टाइम्स

९ फाल्गुन २०८२, शनिबार १९:०५

भदौ २३ र २४ मा भएको  आक्रमण ‘शत्रु देश’ ले गर्ने प्रहार जस्तै : मुकुल ढकाल


काठमाडौं, फागुन ९ । रास्वाबाट विद्रोह गर्नु भएका नेता मुकुल ढकालले इतिहासको एक महत्त्वपूर्ण मोडमा उभिएर हेर्दा प्राप्ति र विध्वंसको हिसाब डरलाग्दो देखिएको टिप्पणी गर्नुभएको छ।

ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै १० वर्षे सशस्त्र युद्ध र गत भदौ २३ र २४ गते भएका घटनाबिच तुलना गर्नुभएको छ । उहाँका अनुसार माओवादीको १० वर्षे सशस्त्र युद्धमा करिब १७ हजार जनाले ज्यान गुमाएका थिए। तर गत भदौ २३ र २४ गतेको दुई दिने उत्पातमा ७७ जनाको ज्यान गएको उल्लेख गर्दै उहाँले ती दुई दिनमा भएको सार्वजनिक सम्पत्तिको विनाश १० वर्षे युद्धको समग्र भौतिक क्षतिभन्दा भयानक देखिएको दाबी गर्नुभएको छ।

ढकालले १० वर्षे द्वन्द्वका क्रममा समेत प्रत्यक्ष आक्रमण हुन नसकेका सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जस्ता राज्यका अङ्गहरू गत भदौको घटनामा तहसनहस पारिएको उल्लेख गर्नुभएको छ। उहाँले यस्तो आक्रमणलाई ‘शत्रु देश’ ले गर्ने प्रहारजस्तै भएको टिप्पणी गर्नुभएको छ।

समय परिवर्तनसँगै अनुहार फेरिए पनि प्रवृत्ति उस्तै रहेको उहाँको भनाइ छ। २०६४/०६५ सालका पुष्पकमल दाहाल र बाबुराम भट्टराई को उदय र हाल २०८२ सालका रवि लामिछाने र बालेन्द्र साहको राजनीतिक उदयबिच समानता देखिएको उहाँले उल्लेख गर्नुभएको छ। ‘पपुलिस्ट’ नारासहित उदाएका पात्र र समर्थकहरूको ‘रेडिकल’ व्यवहारमा अनौठो समानता भेटिने उहाँको धारणा छ। ‘के यो केवल एउटा संयोग मात्र हो वा एउटै अदृश्य शक्तिबाट निर्देशित कुनै गहिरो डिजाइन ?’ भन्दै उहाँले प्रश्न उठाउनुभएको छ।