इटहरी, फागुन १०। नेकपा (एमाले) सुनसरी–३ मा ‘जेनजी’ पुस्तामाथि केन्द्रित अभियानलाई तीव्रता दिएको छ। सोही अभियानअन्तर्गत इटहरीमा आयोजित ‘जेनजीसँग भेटघाट तथा अन्तक्रिया’ कार्यक्रममा तीन सयभन्दा बढी युवा एमालेमा प्रवेश गर्नुभएको छ। उहाँहरू उम्मेदवार भगवती चौधरीलाई विजयी गराउने अभियानमा जोडिँदै पार्टीमा समाहित हुनुभएको जनाइएको छ।
कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार चौधरीले जेनजी पुस्ताका माग र मुद्दाहरू सम्बोधन गर्न सक्ने राजनीतिक शक्ति एमाले मात्र भएको दाबी गर्नुभयो। एमाले देश र जनताको सच्चा पार्टी भएको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ पछिको विषम परिस्थितिमा मुलुकलाई स्थायित्व र दिशानिर्देश दिन एमालेले निर्णायक भूमिका खेलेको बताउनुभयो।
उहाँले पछिल्लो समय पार्टीले युवाकेन्द्रित घोषणा–पत्र तयार पारेको जानकारी दिँदै रोजगारी, उद्यमशीलता र प्रविधिमैत्री नीतिलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो। ‘देश विकास गर्न युवामा लगानी अपरिहार्य छ,’ उहाँले भन्नुभयो, ‘युवालाई विदेशिन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै स्वरोजगार र अवसर सिर्जना गर्नुपर्छ।’
चौधरीले आफ्नो सामाजिक तथा आर्थिक पहलका अनुभव प्रस्तुत गर्दै देशभर ५० हजारभन्दा बढी महिलालाई उद्यमशील बनाउने अभियान सफल भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार दुई हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिएको छ भने आफ्नै क्षेत्रमा सयौँ गरिब, विपन्न तथा असहाय नागरिकलाई सुरक्षित आवास निर्माण गरिसकिएको छ। आगामी दिनमा सुनसरी–३ का गरिब तथा विपन्न परिवारका लागि थप ५ सय घर निर्माण गरिदिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रम सुनसरी–३ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न भएको हो। कमिटीका अध्यक्ष सबिन श्रेष्ठका अनुसार वडा नं. ६ देखि १५ सम्मका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सुनसरी–३ का चुनावी कमाण्डर लिलम बस्नेतले चौधरीलाई ११ हजारभन्दा बढी मतान्तरले विजयी गराउने लक्ष्यसहित युवा परिचालनलाई तीव्र बनाइएको बताउनुभयो। उहाँले भगवती चौधरी जनताको हरेक सुख–दुःखमा साथ दिने नेतृ भएकाले पुनः विजयी गराएर पठाए क्षेत्र मात्र नभई समग्र देशकै हित हुने धारणा राख्नुभयो।
एमालेले यस क्षेत्रलाई युवामैत्री विकासको नमुना बनाउने रणनीतिसहित अभियान अघि बढाएको जनाएको छ। युवा पुस्ताको सक्रिय सहभागिताले चुनावी प्रतिस्पर्धामा नयाँ ऊर्जा थपिएको नेताहरूको दाबी छ।













प्रतिक्रिया दिनुहोस्