ओखलढुंगा, फागुन १० । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि ओखलढुंगाबाट उम्मेदवार रहनुभएकी अस्मिता थापाको विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
एमालेकी जेनजी उम्मेदवार थापाले ‘युवा शक्ति, महिला नेतृत्व र अनुभवी संगठनको संयोजन नै ओखलढुंगाको भविष्य’ भन्ने मूल नारासहित जिल्लाको समग्र विकास, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो चुनावी एजेण्डा अघि सार्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उम्मेदवार थापाले आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभई ओखलढुंगाको दिगो विकास र प्रभावशाली प्रतिनिधित्वका लागि भएको स्पष्ट पार्नुभएको छ। उहाँले आफू सांसद निर्वाचित भएमा विधायिकी भूमिकामा सशक्त उपस्थिति जनाउँदै जिल्लाका सवाल संसद्मा निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पूर्वाधार विकास पहिलो प्राथमिकता
प्रतिबद्धतापत्रमा भौतिक पूर्वाधार र यातायातलाई पहिलो प्राथमिकतामा राखिएको छ। एमालेकै पहलमा निर्माणाधीन दूधकोसी, मोलुङ र लिखु कोरिडोरलाई शीघ्र सम्पन्न गरी दिगो यातायात सञ्चालनमा ल्याउने उहाँको योजना छ। गाउँपालिका केन्द्र र प्रमुख बस्ती जोड्ने सडक स्तरोन्नति, कालोपत्रे अभियानलाई दीर्घकालीन योजनासहित अघि बढाउने तथा सबै मौसममा सवारी सञ्चालन हुने व्यवस्था मिलाइने उल्लेख छ।
साँघुटार–घोराखोरी–कोषभञ्ज्याङ–ओखलढुंगा–सिलौरीघाट सडक सम्पन्न गराउँदै मध्यपहाडी लोकमार्गलाई जिल्लाको केन्द्रभागबाट लैजान राष्ट्रियस्तरमा पहल गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, सदरमुकाममा व्यवस्थित बसपार्क, मोटरेबल पुल र नगरउन्मुख पालिकाका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने उल्लेख छ।
कृषिबाट आत्मनिर्भर अर्थतन्त्र
कृषिलाई जीविकोपार्जनमुखी अवस्थाबाट व्यवसायीकरणतर्फ रूपान्तरण गर्ने योजना प्रतिबद्धतापत्रको अर्को मुख्य पक्ष हो। किसानलाई आकर्षक मुआब्जा, सहकारीमार्फत उत्पादनको सुनिश्चित बजार, कृषि तथा पशुपालन पकेट क्षेत्र घोषणा, युवा कृषकलाई अनुदान, बिमा र सहुलियत ऋणको व्यवस्था गरिने उल्लेख छ।
रैथाने बाली संरक्षण, अर्ग्यानिक कृषि प्रवर्द्धन, शीत भण्डार निर्माण, वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणलगायत कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतामा पार्ने उहाँको अठोट छ।
डिजिटल ओखलढुंगा र रोजगारी
सूचना प्रविधिमा आधारित विकासलाई प्राथमिकतामा राख्दै सस्तो र तीव्र इन्टरनेट सेवा, सबै क्षेत्रमा मोबाइल नेटवर्क विस्तार तथा आइटी हब स्थापना गर्ने योजना अघि सारिएको छ। युवा तथा किशोर–किशोरीलाई प्रविधिमार्फत आम्दानी र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
स्थानीय कच्चा पदार्थमा आधारित उद्यमलाई सहुलियत ऋण, कर छुट र अनुदान उपलब्ध गराउने, जडीबुटी प्रशोधन, डेरी, चिया, अदुवा, अलैँची जस्ता साना उद्योग प्रवर्द्धन गर्ने तथा वन क्षेत्रलाई आयआर्जनमा उपयोग गर्ने नीति अघि सारिएको छ।
शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
उम्मेदवार थापाले सीपमूलक, प्राविधिक र गुणस्तरीय शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयको स्तरोन्नति, ई–लाइब्रेरी र डिजिटल कक्षाको विकास गर्ने बताउनुभएको छ। एसईईपछि जिल्लामै सबै विषय अध्ययनको व्यवस्था, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शिक्षक दरबन्दी व्यवस्थापनलाई प्राथमिकता दिने उल्लेख छ।
स्वास्थ्यतर्फ जिल्ला अस्पताल र आधारभूत अस्पताल स्तरोन्नति, विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार, टेलिमेडिसिन सेवा सञ्चालन, जटिल रोग उपचार सहयोग विस्तार तथा मातृ–शिशु मृत्युदर घटाउन रणनीतिक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता छ। गर्भवती, अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम अघि सारिएको छ।
पर्यटन, संस्कृति र सुशासन
रुम्जाटार विमानस्थल नियमित सञ्चालन, जिल्लाका झरना, गढी, धार्मिक तथा पर्यटकीय स्थलको पूर्वाधार विकास, पिके सर्किटलगायत ट्रेकिङ मार्ग विस्तार तथा होमस्टे प्रवर्द्धन गर्ने योजना उल्लेख गरिएको छ। स्थानीय भाषा, भेसभुसा, कला र संस्कृतिको संरक्षणमा बजेट सुनिश्चित गरिने जनाइएको छ।
सुशासनका सन्दर्भमा नियमित सांसद सुनुवाइ, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी विकास प्रणाली तथा नागरिक गुनासो व्यवस्थापन संयन्त्र निर्माण गर्ने अठोट व्यक्त गरिएको छ।
‘एमाले रोज्दा विकासको ढोका खुल्ने’ दाबी
प्रतिबद्धतापत्रको अन्त्यमा ओखलढुंगाले एमाले रोज्दा विकासको ढोका खुल्ने इतिहास रहेको दाबी गरिएको छ। युवा नेतृत्व र महिला सशक्तीकरणको संयोजनले जिल्लालाई समृद्धिको मार्गमा अघि बढाउने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा सूर्य चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन उम्मेदवार थापाले आग्रह गर्नुभएको छ।
ओखलढुंगामा पहिलोपटक जेनजी पुस्ताकी युवा महिला उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएकी अस्मिता थापाको प्रतिबद्धतापत्रले विकास, समावेशिता र सुशासनका एजेण्डालाई समेटेको एमालेले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्