दाङ, फागुन १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास यात्रालाई निरन्तरता दिन सक्षम र प्रभावकारी नेतृत्व आवश्यक रहेको बताउनुभएको छ।
आइतबार विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अधुरा विकास योजनालाई निष्कर्षमा पुर्याउन मतदाताले सोचविचार गरेर निर्णय गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सभामा बोल्दै उहाँले दाङको समग्र विकासका लागि आफूले अघि सारेका पूर्वाधार, स्वास्थ्य र शिक्षासम्बन्धी योजनालाई पूर्णता दिन नेतृत्वको निरन्तरता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। ‘दाङको विकास र समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक छ,अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पुर्याउन जनताको साथ चाहिन्छ,’ उहाँले भन्नुभयो।
आफू प्रदेश सरकारको नेतृत्वमा रहँदा दाङमा पूर्वाधार निर्माण, स्वास्थ्य सेवा विस्तार र शैक्षिक विकासका क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी भएको उहाँको दाबी छ। ‘मैले नेतृत्व गर्दा दाङको विकासको आधार तयार भएको थियो। सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिनुपर्ने आवश्यकता छ,’ उहाँले उल्लेख गर्नुभयो।
घोराही–तुलसीपुर चारलेन सडक निर्माण आफ्नै पहलमा सुरु भएको भन्दै उहाँले विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार तथा मानपुर–जलकुण्डी सडक स्तरोन्नतिलगायतका योजना मध्य दाङको विकासका लागि अनिवार्य रहेको बताउनुभयो। ‘मध्य दाङको समग्र विकासका लागि सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य छ,’ उहाँले जोड दिनुभयो।
स्वास्थ्य क्षेत्रतर्फको उपलब्धि उल्लेख गर्दै उहाँले दाङका अस्पताललाई रिफर सेन्टरको स्तरबाट विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गरिएको बताउनुभयो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा एमबिबिएस अध्ययन सुरु हुनु दाङका लागि ऐतिहासिक उपलब्धि भएको उहाँको भनाइ थियो। ‘अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा दाङमै सुदृढ बनाउनुपर्छ,’ उहाँले भन्नुभयो।
उहाँले नीति निर्माण र बजेट विनियोजन प्रक्रियामा प्रभावकारी पहुँच पुर्याउन सक्ने प्रतिनिधि आवश्यक रहेको पनि औँल्याउनुभयो। ‘काठमाडौंबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने नेतृत्व दाङले रोज्नुपर्छ, समृद्ध दाङ बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ,’ उहाँले भन्नुभयो।
चुनावी सभामा उहाँले पार्टीका नेता–कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अभियान सञ्चालन गर्न आह्वान गर्नुभयो। विकास, स्थिरता र समृद्धिको सन्देश घर–घरमा पुर्याउन आग्रह गर्दै उहाँले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा स्थानीय नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्