जनता टाइम्स

१० फाल्गुन २०८२, आईतवार १८:४१

‘पर्यटन र हनुमन्ते करिडाेरकाे क्षतिपूर्ति’ लाई चुनावी एजेन्डा बनाउँदै महेश बस्नेतको मध्यपुरथिमि केन्द्रित अभियान


भक्तपुर, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण केन्द्रका रूपमा विकास गर्ने  प्रतिवद्धता जनाउनुभएकाे छ ।

उहाँले हनुमन्ते कोरिडोरबाट प्रभावित नागरिकलाई उचित मुआब्जा दिने प्रतिबद्धता पनि जनाउनुभएको छ।  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उहाँले पर्यटन, सम्पदा संरक्षण र स्थानीय पीडितका मुद्दालाई चुनावी एजेण्डाको केन्द्रमा राख्नुभएको हो।

मध्यपुरथिमिमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उहाँले विगत तीन वर्षदेखि रोकिएको विकासको गति पुनः अघि बढाउने बताउनुभयो। ‘मध्यपुरथिमिको कला, संस्कृति र ऐतिहासिक सम्पदालाई जोगाएर रोजगारी र आयआर्जनसँग जोड्ने कामलाई अब थप व्यवस्थित ढङ्गले अघि बढाइन्छ,’ उहाँले भन्नुभयो।

उहाँले एमाले नेतृत्वमा नगरपालिकाले कला र संस्कृतिको संरक्षणसँगै त्यसलाई उद्योग र व्यवसायसँग जोड्ने आधार तयार पारेको दाबी गर्नुभयो। भूकम्पपछि भत्किएका भौतिक तथा अभौतिक सम्पदाको पुनर्निर्माणका लागि ठुलो बजेट विनियोजन गरिएको स्मरण गर्दै उहाँले दुई पाखरी, कमलपोखरी, फल्चा र मन्दिरलगायतका सम्पदाको संरक्षण गरिएको बताउनुभयो।

बस्नेतले ‘लाईभ म्युजियम’ अवधारणालाई पुनर्जीवित गर्ने योजना अघि सार्नुभयो। माटोका भाँडा, काष्ठकला र धातुकलाजस्ता परम्परागत सीपलाई पर्यटकसामु प्रत्यक्ष निर्माण र बिक्री गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ। ‘मध्यपुरथिमिको मौलिक सीप र श्रमलाई विश्वसामु चिनाउने गरी पर्यटन विकास गरिन्छ,’ उहाँले उल्लेख गर्नुभयो।

युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न २० लाख रुपैयाँसम्म बिना धितो ऋण उपलब्ध गराएर साना उद्योग विस्तार गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो। माटोका भाँडा उत्पादनमा देखिएको कच्चा पदार्थ अभाव समाधान गर्न भक्तपुरभित्रै माटो व्यवस्थापनको पहल भइरहेको उहाँले जानकारी दिनुभयो। कृषि पर्यटन प्रवर्द्धन गरी स्थानीय उत्पादन र रोजगारी सृजना गर्ने लक्ष्यसमेत उहाँले अघि सार्नुभयो।

हनुमन्ते करिडोरका कारण जग्गा प्रभावित भएका स्थानीय बासिन्दाको गुनासोप्रति आफू जानकार रहेको बताउँदै उहाँले उचित क्षतिपूर्ति र मुआब्जा बिना आयोजना अगाडि नबढाइने स्पष्ट पार्नुभयो। ‘हनुमन्ते करिडोर निर्माण रोकिएको हाम्रो कारणले होइन, राजनीतिक विवादका कारण सुस्ताएको हो, अब हामी आएपछि प्रभावित सबैलाई न्यायोचित मुआब्जा दिएर मात्र आयोजना सम्पन्न गरिन्छ,’ उहाँले बताउनुभयो।

उहाँले भक्तपुरलाई सिंहदरबारसँग प्रभावकारी रूपमा जोड्ने र संघीय तहमा बजेट तथा नीतिगत पहुँच बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। विगतमा सुरु भएका तर अपूरा रहेका योजनालाई पूर्णता दिने तथा संसद्मा स्थानीय मुद्दा सशक्त रूपमा उठाउने उहाँको भनाइ थियो।

चुनावलाई ‘देश बनाउने र देश बिगार्ने शक्तिबिचको प्रतिस्पर्धा’को रूपमा चित्रित गर्दै उहाँले मतदातालाई सचेत रहन आग्रह गर्नुभयो। एमालेले राष्ट्रियता, सार्वभौमसत्ता, सिमाना सुरक्षा र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने दाबी गर्दै उहाँले पार्टीविरुद्ध स्वदेश तथा विदेशबाट घेराबन्दी भइरहेको बताउनुभयाे ।

मध्यपुरथिमि क्षेत्रमा आयोजित कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको जनाइएको छ। निर्वाचन नजिकिँदै जाँदा भक्तपुर क्षेत्रमा विकास, पर्यटन र स्थानीय सरोकारका मुद्दा चुनावी बहसको केन्द्रमा देखिन थालेका छन्।