कैलाली, फागुन १० । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ४ मा चुनावी गतिविधि तीव्र बनेका छन्। घरदैलो अभियान, भेटघाट र कोणसभामार्फत उम्मेदवारहरू मतदाता समक्ष पुगिरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टको पक्षमा विभिन्न वर्गका मतदाताले समर्थन जनाइरहेको दाबी गरिएको छ। उहाँका समर्थकहरूका अनुसार युवा, महिला तथा ज्येष्ठ नागरिकबीच उहाँप्रति सकारात्मक धारणा देखिएको छ।
युवा मतदाताले विगतमा भएका पूर्वाधार निर्माण, कृषि क्षेत्रका कार्यक्रम तथा स्थानीय विकासका कामलाई समर्थनको आधार बनाएको बताएका छन्। केही युवाले सडक, नहर तथा पोखरी निर्माणजस्ता योजनाले प्रत्यक्ष लाभ पुगेको उल्लेख गरेका छन्।
महिला मतदाताले पनि विकासका कार्यक्रमले जीवनस्तरमा सुधार आउने अपेक्षासहित समर्थन जनाएका छन्। ज्येष्ठ मतदाताले अनुभव र निरन्तरताको आधारमा उहाँलाई रोज्ने धारणा राखेका छन्।
समर्थकहरूका अनुसार भट्टले अघि बढाउनुभएका सेती लोकमार्ग, महाकाली लोकमार्ग, सुदूरपश्चिम विश्वविद्यालय, बयलपाटा अस्पताल, गेटा मेडिकल कलेज र दैजी औद्योगिक क्षेत्र जस्ता आयोजना सुदूरपश्चिमका लागि महत्वपूर्ण रहेको बताएका छन्।
कैलाली–४ मा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय रूपमा चुनावी अभियानमा छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाताको रोजाइ कतातिर मोडिन्छ भन्ने विषय चासोका रूपमा हेरिएको छ। फागुन २१ को मतपरिणामले क्षेत्रको राजनीतिक दिशा तय गर्नेछ।













प्रतिक्रिया दिनुहोस्