काठमाडौं, फागुन ११। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वाग्मती प्रदेश सदस्य हरिलाल चौलागाईँले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी सभापतिलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी गराउनुभएको हो ।
चौलागाईँले आफू विगतदेखि पार्टीको नीति, सिद्धान्त र लक्ष्यप्रति आस्था राख्दै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय पार्टीभित्र देखिएका ‘गम्भीर प्रवृत्ति’ र निर्णय प्रक्रियाले आत्मसम्मानमा चोट पुगेको अनुभूति भएको बताउनुभएकाे छ । उहाँले लामो समयदेखि पार्टीका लागि खटिएका समर्पित कार्यकर्तालाई पाखा लगाएर ‘नयाँ र चटकदार’ व्यक्तिलाई प्राथमिकता दिँदै टिकट तथा अवसर प्रदान गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाउनुभएको छ । ‘चाकडी र निकटतालाई योग्यता र समर्पणभन्दा माथि राखेर पद बाँडफाँट गर्ने संस्कारले पार्टीलाई दिशाहीनतातर्फ धकेलिरहेको छ,’ पत्रमा उल्लेख छ ।
चौलागाईँले पार्टीभित्र अपारदर्शिता, बेथिति र नीति–सिद्धान्तभन्दा व्यक्ति–केन्द्रित निर्णय हाबी हुँदै गएको दाबी गर्नुभएको छ । सीमित व्यक्तिहरूले पार्टीलाई ‘निजी कम्पनी’झैँ सञ्चालन गर्ने र तल्लो तहका नेता–कार्यकर्तालाई ‘दास सरह’ व्यवहार गर्ने प्रवृत्तिले लोकतान्त्रिक चरित्र कमजोर बनाएको उहाँको आरोप छ । ‘समर्पित र इमान्दार कार्यकर्ताको आत्मसम्मानमा निरन्तर चोट पुगिरहेको अवस्थामा पार्टीभित्र बसिरहेर भोलिका दिनमा पार्टी र देशको अधोगति टुलुटुलु हेर्नुभन्दा अहिले नै अलग हुनु उचित ठानेँ,’ उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।
उहाँले आजकै मितिदेखि रास्वपाको साधारण सदस्य समेत नरहने गरी बागमती प्रदेश सदस्य, संघीय निर्वाचन सम्पादन बागमती प्रदेश समिति सदस्य लगायत पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जनाउनुभएको छ ।
राजीनामा पत्रको अन्त्यमा चौलागाईँले पार्टीमा सहकार्य गर्ने नेता, सदस्य र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो निर्णय व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि आत्मसम्मान, मूल्य र सिद्धान्तको रक्षा गर्न लिइएको कदम भएको स्पष्ट पार्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्