काठमाडौं, फागुन १२। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान आफ्नै श्रीमती र छोरीको हत्या गरी ज्वाइँमाथि आक्रमण गर्ने एक नेपालीलाई प्रहरीले गोली हानेर मारिदिएको छ । प्रहरीको गोली लागेर आक्रमणकारीको ज्यान गएको हो ।
प्रहरीका अनुसार ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रयोग गरी परिवारका सदस्यहरूमाथि आक्रमण गरेका थिए। आक्रमणमा ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना फेयरफ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टको हो । आक्रमणपछि ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेतले प्रहरीलाई खबर गरेका थिए। छत्रबहादुरले उनी माथि पनि धारिलो हतियार प्रहार गरेका र उनलाई गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको छ ।
प्रहरी टोलीले हतियार फाल्न पटक–पटक आदेश दिए पनि नमानेपछि आत्मरक्षाका लागि गोली चलाइएको बताइएको छ। गोली लागेर छत्रबहादुरको मृत्यु भएको हो।
घटनाका क्रममा घरमा रहेका एक वर्षीय शिशु भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्