दाङ, फागुन १२। नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ जिल्लालाई शैक्षिक तथा प्रविधि केन्द्रका रूपमा विकास गर्ने काम तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभएको छ।
उहाँले लामो समयदेखि अलपत्र रहेको त्रिभूवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इञ्जिनियरिङ घोराही क्याम्पसको निर्माण प्रक्रिया अघि बढ्नु दाङका लागि ‘खुसीको खबर’ भएको उल्लेख गर्नुभएको छ।
महासचिव पोखरेलले जिल्लाको विकास कुनै एक दल विशेषको मात्र हितसँग जोडिएको विषय नभई समग्र दाङवासीको साझा सरोकार भएको स्पष्ट पार्नुभएकाे छ। उहाँका अनुसार घोराहीस्थित इन्जिनियरिङ् क्याम्पस लामो समयसम्म निर्माणविहीन अवस्थामा रहेको थियो। आवश्यक पहलपछि ३० करोड रुपैयाँ स्रोत सुनिश्चित भएसँगै २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको थियो।
प्रतिस्पर्धात्मक प्रक्रिया पूरा भएपछि २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। हाल क्याम्पस निर्माण कार्य अगाडि बढिरहेको जनाइएको छ।
निर्माणाधीन संरचना २०८४ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। क्याम्पस सञ्चालनमा आएपछि यहाँ कम्प्युटर इन्जिनियरिङ् विषयको अध्यापन सुरु हुने जनाइएको छ। महासचिव पोखरेलका अनुसार यसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गर्नेछ।














प्रतिक्रिया दिनुहोस्