काठमाडौं, फागुन १२। भारतको झारखण्ड राज्य अन्तर्गत चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ। दुर्घटनामा विमानमा सवार सबै ७ जनाको ज्यान गएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्। घटना सोमबार साँझ सिमारिया क्षेत्र नजिकै भएको हो।
रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी–९० विमान साँझ ७ बजेर ११ मिनेटमा राँची विमानस्थलबाट दिल्लीका लागि उडेको थियो। उडानपछि करिब ७ बजेर ३० मिनेटदेखि विमान सम्पर्कविहीन भएको र खोजीका क्रममा कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाइएको छ।
दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, सञ्जय कुमार, डा. विकास कुमार गुप्ता, सचिन कुमार मिश्रा, अर्चना देवी र धुरु कुमारको मृत्यु भएको पुष्टि गरिएको छ। सबै शव फेला पारेर परीक्षणका लागि अस्पताल पठाइएको छ।
४१ वर्षीय सञ्जय कुमारलाई गम्भीर अवस्थामा उपचारका लागि राँचीबाट दिल्ली लैजान एयर एम्बुलेन्सको व्यवस्था गरिएको थियो। उनी ६५ प्रतिशतसम्म जलेका कारण केही दिनदेखि देवकमल अस्पतालमा उपचाररत थिए। परिवारका सदस्यका अनुसार उनकाेअवस्था अत्यन्त नाजुक रहेकाले स्थलमार्गबाट लैजान सम्भव नभएको र चिकित्सकको सल्लाहमा हवाई एम्बुलेन्स प्रयोग गरिएको थियो।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको सम्बन्धित निकायले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्