जनता टाइम्स

१२ फाल्गुन २०८२, मंगलवार ११:०५

मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी


काठमाडौं, फागुन १२। निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी मतगणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले मत परिणाम आउन धेरै समय नलाग्ने बताउनुभएको छ। उहाँका अनुसार समानुपातिकतर्फको मतगणनामा एक–दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्षतर्फको परिणाम भने मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र घोषणा गर्ने गरी आयोगले तयारी अघि बढाएको छ।

उहाँले उपत्यकाबाहिरका जिल्लामा मतपत्र पठाउने काम सम्पन्न भइसकेको र काठमाडौं, ललितपुर तथा भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म मतपत्र पुर्‍याइसक्ने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभएको छ। मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक निर्वाचन सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा खटिने व्यवस्था मिलाइएको पनि उहाँले स्पष्ट पार्नुभयो।

निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उहाँको भनाइ छ। मतपत्र छपाइदेखि ढुवानीसम्मका जटिल व्यवस्थापकीय काम पूरा भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको पनि उहाँले बताउनुभयो।

हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने विषयमा भने आयोग अझै निर्णयमा नपुगेको उहाँले जानकारी दिनुभयो। भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै मतदातालाई मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नदिने गरी आवश्यक निर्णय गर्न आयोग तयारी अवस्थामा रहेको उहाँको भनाइ छ। ‘यदि त्यस्तो अवस्था आयो भने हामी जहाँ मतदाताहरू हुनुहुन्छ त्यहीँ गएर मत सङ्कलन गर्ने गरी आयोगले निर्णय गर्छ,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो।

उहाँले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन सबैमा आग्रह समेत गर्नुभएको छ।