जनता टाइम्स

१२ फाल्गुन २०८२, मंगलवार ११:१९

साम्बाको उपचारका लागि नेपाली कांग्रेसद्वारा पाँच लाख रुपैँया सहयोग


काठमाडौं, फागुन १२। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

साम्बाको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोट लागेकाले जटिल शल्यक्रियाको तयारी भइरहेको जनाइएको छ। उहाँको उपचारमा सहयोग पुर्याउनु सबैको दायित्व भएको उल्लेख गर्दै कांग्रेसले सहयोग उपलब्ध गराएको जनाएको छ।

यस सन्दर्भमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको जनाएको छ।

यसैबीच कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिनुभएकी प्रसिद्ध फुटबल खेलाडी साम्बाप्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको बताउनुभएको छ। उहाँले यतिबेला सबैले साम्बालाई साथ दिनु आवश्यक रहेको उल्लेख गर्दै पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

कांग्रेसले खेलकुदलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’को मेरुदण्डका रूपमा स्थापित गर्ने आफ्नो सङ्कल्पसमेत दोहोर्‍याएको छ।

कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।