जनता टाइम्स

१२ फाल्गुन २०८२, मंगलवार १३:२६

नेकपा मालेले दाङका तीनवटै निर्वाचन क्षेत्रमा एमालेलाई समर्थन गर्ने


दाङ, फागुन १२। नेकपा माले दाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने निर्णय गरेको छ।

सहमतिअनुसार, दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको पक्षमा मतदान गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पनि माले र एमालेबिच सहकार्य जारी रहने जनाइएको छ।

नेकपा मालेका पोलिटब्युरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्र प्रकाश पाण्डे र नेकपा एमालेका लुम्बिनी प्रदेश समिति सदस्य हुकुमबहादुर बस्नेत तथा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीबिच मंगलबार लिखित सहमति भएको छ।

यस अनुसार दाङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य रेवतिरमण शर्मा, क्षेत्र नम्बर २ मा महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा पार्टी केन्द्रीय सदस्य घनश्याम पाण्डेका उम्मेदवारलाई माले समर्थन गर्नेछ।

यो सहकार्यले दाङमा एमाले र मालेबीच रणनीतिक एकता कायम गर्दै निर्वाचन र आगामी राजनीतिक प्रक्रियामा साझा लक्ष्यमा केन्द्रित हुने देखिएको छ।