काठमाडौं, फागुन १२। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न भागमा जारी निषेधाज्ञा र कर्फ्युप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एमालेका तर्फबाट पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा शान्ति–सुरक्षाको नाममा जारी यस्ता कदमले मतदातामा डर, त्रास र भय सृजना गरी स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा मधेस–तराईका विभिन्न जिल्लामा निषेधाज्ञा तथा कर्फ्यु लागू गरिनुले निर्वाचनको भयरहित वातावरणमा असर पर्न सक्ने उल्लेख गरिएको छ। पार्टीले सुरक्षा व्यवस्थापनको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाउँदै सरकारलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन पुनः आग्रह गरेको छ।
पार्टीले निर्वाचन प्रचारप्रसारका लागि तोकिएको अवधिमा राजनीतिक दल र उम्मेदवारहरूले आमसभा, भेला तथा सार्वजनिक संवादमार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्न पाउनु लोकतन्त्रको आधारभूत मूल्य भएको उल्लेख गरेको छ। तर निषेधाज्ञा र कर्फ्युका कारण त्यस्ता गतिविधि प्रभावित भएको भन्दै यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएको आरोप लगाएको छ।
एमालेले फागुन २१ गते घोषित मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने आफ्नो अडान दोहोर्याउँदै कुनै बहानामा चुनाव सार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय शक्ति भएको दाबी गरेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई व्यवहारमा उतार्ने स्पष्ट दृष्टि र कार्ययोजनासहित अघि बढिरहेको उल्लेख गर्दै पार्टीले बढ्दो जनसमर्थनलाई राष्ट्रिय नेतृत्वप्रतिको विश्वासको अभिव्यक्ति भनेको छ।
पार्टीले ‘देश पहिला’को नारासहित निर्वाचन अभियानमा लागेको जनाउँदै ‘भोट फर नेशन’को भावनासहित नेता–कार्यकर्ता घरदैलोमा पुगेको जनाएको छ।
एमालेले प्रतिनिधिसभा विघटनसम्बन्धी विषय संवैधानिक परीक्षणमा जानुपर्ने आफ्नो अडान दोहोर्याउँदै सम्मानित सर्वोच्च अदालतले सो विषयमा ढिलाइ गरेकोप्रति असन्तुष्टि जनाएको छ।
त्यसै गरी महान्यायाधिवक्ताको कार्यालयले केही आपराधिक घटनामा संलग्न व्यक्तिलाई आममाफी दिने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै यसले दण्डहीनता बढाउने खतरा रहेको उल्लेख गरेको छ। जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाको छानबिन प्रतिवेदन सार्वजनिक नगरी निर्णय गरिएको भन्दै उक्त कदमलाई ‘न्याय मर्नु सरह’ भएको टिप्पणी गरेको छ।
निर्वाचनको संवेदनशील चरणमा ‘मत सर्वेक्षण’का नाममा एकपक्षीय सामग्री सार्वजनिक गरिनु जनमत प्रभावित पार्ने प्रयास भएको एमालेको दाबी छ। यस्ता गतिविधिले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने जोखिम रहेको भन्दै निर्वाचन आयोग नेपाललाई प्रभावकारी अनुगमन गर्न आग्रह गरिएको छ।
पार्टीले सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचना, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी तयार गरिएका ‘डिपफेक’ सामग्रीप्रति पनि चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिले लोकतान्त्रिक प्रक्रिया र सामाजिक सद्भाव कमजोर बनाउने ठहर गर्दै आवश्यक कानुनी निगरानी कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
एमालेले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि अस्वीकार्य हुने जनाएको छ। मतको प्रतिस्पर्धा विचारमा हुनुपर्ने, समुदाय वा आस्थामाथि नभएको स्पष्ट धारणा पार्टीले सार्वजनिक गरेको छ।
विज्ञप्तिमा फागुन ११ गते धादिङको भैँसीगौँडास्थित पृथ्वी राजमार्गमा भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते २५ जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
सरकारलाई दुर्घटनाको सत्य तथ्य छानबिन गरी मृतक परिवारलाई बिमा र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न जोडदार माग गरिएको छ।
एमालेका तर्फबाट आम निर्वाचन २०८२ का प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी उक्त विज्ञप्तिमा वर्तमान संवेदनशील अवस्थामा लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।














प्रतिक्रिया दिनुहोस्