जनता टाइम्स

१२ फाल्गुन २०८२, मंगलवार १९:०२

दुर्गा प्रसाईँलाई रिहा गर्न सर्वाेच्च अदालतकाे आदेश 


काठमाडौं, फागुन १२। सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। निर्वाचन प्रक्रियासँग सम्बन्धित अभिव्यक्तिलाई लिएर पक्राउ पर्नुभएका प्रसाईंलाई मंगलबार साँझ अदालतले रिहा गर्ने आदेश जारी गरेको हो।

न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उहाँको पक्षमा रिट जारी गर्दै पक्राउ प्रक्रियामाथि कानुनी परीक्षण आवश्यक देखिएको निष्कर्ष निकालेको हो। अदालतको आदेशसँगै प्रसाईँको रिहाइको बाटो खुलेको छ।

यसअघि निर्वाचन आयोगको पत्रका आधारमा प्रहरीले फागुन ४ गते उहाँलाई पक्राउ गरेको थियो। आयोगको कामकारबाहीलाई प्रभावित पार्ने उद्देश्यले अफवाह फैलाएको आरोप उहाँमाथि लगाइएको थियो। प्रसाईँले आयोगका पदाधिकारीहरूले रकम लिएर गगन थापालाई नेपाली कांग्रेसको आधिकारिकता दिएको दाबी सार्वजनिक रूपमा गर्नुभएको थियो, जसलाई आयोगले गम्भीर रूपमा लिएको थियो।

उक्त अभिव्यक्तिपछि निर्वाचन आचारसंहिताको पालना र आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने गतिविधि भएको ठहर गर्दै सम्बन्धित निकाय सक्रिय भएको थियो।