बेलायत, फागुन १३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित विशेष कार्यक्रममा सिम्खडाले विस्तृत संकल्प–पत्र सार्वजनिक गर्दै उम्मेदवारीको घोषणा गर्नुभएको हो ।
सिम्खडाले चोइटिएको एनआरएनए एकताबद्ध बनाउने उद्देश्यका साथ आफू मैदानमा आएको बताउनु भयो । संस्थाभित्र देखिएको असमञ्जस्यता र फुटलाई अन्त्य गरी एउटै र साझा एनआरएनए बनाउने आफ्नो मुख्य संकल्प रहेको सिम्खडाको भनाइ छ । झन्डै दुई दशकदेखि अभियानमा सक्रिय सिम्खडाले संस्थाको प्रशासनिक मेरुदण्ड मानिने महासचिव पदमार्फत एनआरएनएलाई पारदर्शी, प्रविधिमैत्री र सदस्य–केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिम्खडाले संस्थालाई राजनीतिक गुटबन्दीभन्दा माथि उठाएर विशुद्ध सामाजिक र साझा संस्थाको रूपमा स्थापित गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ । १०औँ र ११औँ महाधिवेशनमा देखिएका विवादलाई वस्तुनिष्ठ ढंगले समाधान गर्न र सदस्यता वितरण एवम् प्रतिनिधि छनोट प्रणालीलाई पुनरावलोकन गर्न निर्वाचित भएको ६ महिनाभित्रै विधान–सभामार्फत आवश्यक संशोधन गर्ने घोषणा उहाँको छ । साथै, सबैले नेतृत्व छनोटमा सहभागी हुन पाउने गरी ‘इलेक्टोरल सिस्टम’ लाई विधानमा समावेश गर्ने र राजनीतिक हस्तक्षेप अन्त्यका लागि एनआरएन ऐन संशोधनमा पहल गर्ने उहाँको योजना छ । संस्थाको गरिमा र पारदर्शिताका लागि केन्द्रको त्रैमासिक लेखा प्रतिवेदन वेबसाइटमा राख्ने र महत्वपूर्ण निर्णयहरूमा पञ्जीकृत सदस्यहरूको राय लिन ‘रेफरेन्डम’ (जनमत) को व्यवस्था गर्ने प्रतिज्ञा समेत सिम्खडाले गर्नुभएको छ ।
यसैगरी प्रशासनिक सुधारतर्फ सिम्खडाले निर्वाचित भएको तीन महिनाभित्र दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गर्ने, काठमाडौँ सचिवालयलाई बढी अधिकारसम्पन्न र जिम्मेवार बनाउने तथा निर्वाचन अघिको ६० दिनबाहेक बाँकी २२ महिना नै सदस्यता खुल्ला राख्ने नीति लिने संकल्प पत्रमा उल्लेख छ। राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई थप सशक्त बनाउन उनले उत्कृष्ट कार्य गर्ने तीन एनसीसीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार डलरसहित पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्ने घोषणा पनि सिम्खडाले गर्नुभएको छ । प्रविधिलाई प्राथमिकता दिँदै ‘स्मार्ट एनआरएन एप’ लाई थप सुरक्षित र सदस्य–मैत्री बनाउने तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको सहकार्यमा परोपकारी कार्यहरूलाई अघि बढाउने उहाँको कार्ययोजनामा उल्लेख छ । झन्डै १२ वर्ष अन्तर्राष्ट्रिय दातृ संस्थामा प्रशासकीय भूमिका निर्वाह गरेको अनुभवले एनआरएनएको प्रशासनिक सुधारमा ठुलो मद्दत पुग्ने उहाँको भनाई छ ।
सिम्खडा एनआरएनए यूकेको संस्थापक सदस्य (२००५–०७) देखि महासचिव र सल्लाहकार हुँदै आईसीसी सदस्य, उपमहासचिव र हाल उपाध्यक्ष एवम् एनआरएन कल्याण विभाग प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले संविधान संशोधन सल्लाहकार समितिको सहसंयोजक र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा निर्देशकको भूमिका समेत सफलतापूर्वक निभाउनु भएको छ ।
कार्यक्रममा सिम्खडाले अहिलेसम्म गर्नुभएको कामलाई समेटेर भिडियो समेत प्रस्तुत गरिएको थियो, जसमा उनको विगतका योगदान र भावी कार्यदिशालाई देखाइएको थियो । उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले स्वागत गर्दै एनआरएनको एजेन्डालाई स्थापित गराउन सिम्खडा जस्तो क्षमतावान् नेतृत्वको खाँचो रहेको बताउनु भयो । पुडासैनीले सिम्खडाको कार्यक्षमता र अनुभवले संस्थालाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी एनसीसी माल्टाका अध्यक्ष सत्य झा, लक्ष्मण देवकोटा, सरस्वती केसी, राजु भट्टराई, दीपक सापकोटा, तिलक भट्टराई, हेमन्त काफ्ले लगायतले सोधेका प्रश्नहरूमा सिम्खडाले स्पष्ट पार्दै आफ्नो भावी रणनीति प्रस्तुत गर्नुभएको थियो ।

सिम्खडाको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाउँदै बिभिन्न संस्थाको प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए । २०० भन्दा बढीको सहभागितामा भएको कार्यक्रममा एनआरएनए आईसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठसहित उपाध्यक्ष रोबिन प्रसाद शेरचन, उपाध्यक्ष लोक दाहाल, पूर्व उपाध्यक्ष यस्मिन बेगम सैयद, उपकोषाध्यक्ष अभिमन्यु बस्नेत र सल्लाहकार गोविन्द गौतमले शुभकामना दिएका थिए । त्यसैगरी, संस्थापक अन्तर्राष्ट्रिय संयोजक एवम् म्यानमारका लागि पूर्वराजदूत भीम उदासले अडियो सन्देशमार्फत समर्थन जनाएका थिए भने १३ वर्षीया एनआरएनए आईसीसी ग्लोबल एम्बेसडर ओजस्वी आचार्यले पनि शुभकामना दिनुभएको थियो ।
यसैगरी युरोप क्षेत्रीय महिला संयोजक प्रसुना कडेल, एनआरएनए एनसीसी यूएईका अध्यक्ष टंक गुरुङ, जेनेभाबाट एनआरएन अभियन्ता लक्ष्मण देवकोटा, डेनमार्कबाट सरस्वती कार्की, क्यानाडाबाट राजु भट्टराई र अस्ट्रियाका अध्यक्ष बिनोद चौलागाईं थिए ।
त्यस्तै, एनआरएनए यूकेका सचिव डीएन खरेल, अभियन्ताहरू गणेश प्रसाद शिवाकोटी, ललित न्यौपाने, अमेरिकाबाट परशुराम भण्डारी, फ्रान्सका अध्यक्ष मिन श्रेष्ठ, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजकवेद बस्नेत, एनसीसी अमेरिकाकी महिला सचिव संगीता लामा लामिछाने, इजरायलबाट आईसीसी सदस्य अली मोहम्मद मिया, माल्टाबाट आईसीसी सदस्य एवम् युरोप कमिटीका सचिव भुवन अर्याल र महिला सहकोषाध्यक्ष अमृता थापा कञ्चन लगायतले जुममार्फत जोडिएर सिम्खडाको उम्मेदवारीको समर्थनसहित शुभकामना दिनुभएको छ । कार्यक्रमको सञ्चालन संगीता मराहट्टाले गरेकी थिइन् भने ओम गुरुङ र टेक गुरुङ लगायत धेरै अभियन्ताले सिम्खडालाई महासचिव पदका लागि योग्य पात्र भन्दै विजयको शुभकामना दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्