जनता टाइम्स

१३ फाल्गुन २०८२, बुधबार १२:१९

लमजुङमा एमालेको अभियान तीव्र : उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई मतदाताको स्पष्ट समर्थन रहेकाे दाबी 


लमजुङ, फागुन १३।लमजुङ जिल्लाका सबै स्थानीय तहमा बैठक तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) नयाँ चरणको घरदैलो अभियानमा प्रवेश गरेको जनाएको छ।

पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङप्रति मतदाताले स्पष्ट रूपमा साथ र समर्थन व्यक्त गरेको दाबी एमालेकाे छ । जिल्लाका सबै पालिकामा आयोजना गरिएका बैठक तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै एमालेले गाउँ–गाउँ र टोल–टोलबाट गुरुङप्रति अपार विश्वास, समर्थन र प्रेरणा प्राप्त भएको उल्लेख गरेको छ। कार्यक्रमहरूमा स्थानीय नेता–कार्यकर्ता तथा मतदाताको उल्लेख्य सहभागिता रहेको बताइएको छ।

भेटघाट कार्यक्रम सम्पन्न भएसँगै उम्मेदवार गुरुङले लमजुङवासीबाट ‘अधुरा विकासका काम पूरा गर्न फेरि अगाडि आउनुपर्छ’ भन्ने आत्मीय आग्रह प्राप्त भएको प्रतिक्रिया दिनुभएको छ। उहाँले जनताको यही विश्वास र आग्रहले आफ्नो संकल्पलाई नयाँ ऊर्जा, जाँगर र दिशा प्रदान गरेको उल्लेख गर्नुभयो।

पार्टीका अनुसार लमजुङको उज्ज्वल भविष्य निर्माणका लागि एमालेका सबै तहका कमिटी, जनसंगठन र कार्यकर्ता उच्च मनोबलका साथ एकताबद्ध भएर अभियानमा जुटेका छन्। प्रत्येक कार्यकर्ता परिवर्तनका वाहकका रूपमा घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुगिरहेको जनाइएको छ।

उम्मेदवार गुरुङले अब देखिएको उत्साह, एकता र प्रतिबद्धतालाई निरन्तरता दिँदै विजयतर्फ दृढतापूर्वक अघि बढ्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले विजयी भएपछि समृद्ध, विकसित र सम्भावनाले भरिपूर्ण लमजुङ निर्माण गर्ने अटल प्रतिबद्धता दोहोर्‍याउनुभयो।

एमालेले आगामी दिनमा घरदैलो, अन्तरक्रिया तथा लक्षित समुदायसँगको संवाद कार्यक्रमलाई अझ सशक्त बनाउँदै चुनावी अभियानलाई तीव्रता दिने जनाएको छ।