बनेपा, फागुन १३। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा काभ्रे क्षेत्र नम्बर १ अन्तर्गत कोशीपारी क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमित लामा यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सक्रिय रहनुभएको छ।
अभियानका क्रममा उहाँ काभ्रेको चौरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुग्नुभएको छ। घरदैलो कार्यक्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषि आधुनिकीकरणका विषयमा विस्तृत छलफल गरिएको छ।
उम्मेदवार लामाले कोशीपारीको समग्र समृद्धिका लागि दीर्घकालीन र ठोस योजना आवश्यक रहेको उल्लेख गर्दै बहुप्रतीक्षित सुनकोशी तेस्रो जलविद्युत आयोजना अघि बढाउन विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँका अनुसार उक्त आयोजना यस क्षेत्रको आर्थिक र भौतिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण परियोजना भएकाले शीघ्र कार्यान्वयनमा जोड दिइनेछ।
उक्त आयोजना सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीका अवसर सिर्जना हुनुका साथै व्यापारिक गतिविधि विस्तार र राजस्व वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। परियोजना सुरु भएसँगै दोलालघाटदेखि दोभानटारसम्म जल–पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा सिँचाइ व्यवस्थापन सुधार तथा सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ।
धार्मिक पर्यटन विस्तारका लागि पाथीभारा मन्दिर, चौरीदेउराली मन्दिर, खाँदादेवी मन्दिर र नाग्रेगगर्चेलाई विकासको केन्द्रका रूपमा अघि बढाउने मार्गचित्रसमेत घरदैलो कार्यक्रममार्फत् मतदातालाई जानकारी गराइएको छ।
घरदैलो अभियानलाई सम्बोधन गर्दै उहाँले विगतमा यस क्षेत्रका जनताले विभिन्न दललाई विजयी गराए पनि अपेक्षित गति र परिणामसहितको विकास हुन नसकेको धारणा व्यक्त गर्नुभयो। सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय सुधार हुन नसकेको उल्लेख गर्दै उहाँले एकपटक एमालेलाई अवसर दिन आग्रह गर्नुभयो।
उम्मेदवार लामाले कोशीपारीको दीर्घकालीन विकासका लागि स्पष्ट योजना र कार्यान्वयन क्षमता आफूमा रहेको दाबी गर्दै आगामी पाँच वर्षभित्र यस क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “समृद्ध कोशीपारी” निर्माणका लागि मतदाताको विश्वास र समर्थन आवश्यक रहेको उहाँले बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्