जनता टाइम्स

१३ फाल्गुन २०८२, बुधबार १४:१४

भोजपुरमा एमालेतर्फ आकर्षण बढ्दो : कन्यदहमा नेकपाका नेता–कार्यकर्ता पार्टी प्रवेश, शेरधन राईद्वारा स्वागत


भोजपुर, फागुन १३। भोजपुरको रामप्रसादराई गाउँपालिका–६ कन्यदहमा नेकपाका नेता कार्यकर्ता साे पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)मा प्रवेश गर्नुभएको छ।

विन्द्र राई र पाण्डव राईको नेतृत्वमा एमालेमा आबद्ध हुनुभएका उहाँहरूलाई पार्टीका सचिव तथा भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले औपचारिक रूपमा स्वागत गर्नुभएको हाे।

नवप्रवेशीहरूले वर्तमान राजनीतिक परिस्थितिमा देश र जिल्लाको विकासका लागि स्पष्ट दृष्टि र स्थिर नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सोही विश्वासका आधारमा एमाले रोजेको प्रतिक्रिया दिनुभएको छ। नेकपाबाट अपेक्षित रूपमा विकास र राजनीतिक समस्याको निकास सम्भव नभएको निष्कर्षसहित आफूहरू एमालेमा समाहित भएको उहाँहरूको भनाइ छ।

नेता विन्द्र राईले भोजपुर परिवर्तन गर्ने संकल्पलाई साथ दिन आफूहरू एमालेमा प्रवेश गरेको बताउनुभयो। पाण्डव राई तत्कालीन माओवादी केन्द्रको तर्फबाट रामप्रसादराई गाउँपालिका–६ का उपाध्यक्ष रहनुभएको थियो भने विन्द्र राई वडा कमिटी सदस्यका रूपमा सक्रिय हुनुहुन्थ्यो।

एमाले भोजपुरका अध्यक्ष मक्कर खड्काका अनुसार पछिल्लो समय माओवादी धारका कार्यकर्ताहरूले जिल्लामा शेरधन राईलाई अभिभावकीय भूमिकामा हेर्न थालेका छन्। उहाँले आगामी निर्वाचनमा एमालेको पक्षमा जनलहर देखिएको दाबी गर्नुभएको छ।