जनता टाइम्स

१३ फाल्गुन २०८२, बुधबार १४:३०

मोरङमा डा. शेखर कोइरालाको प्रतिबद्धता : अस्पताल स्तरोन्नति, कलेज स्थापना र सुकुम्बासी समस्या समाधानमा ठोस पहल गर्ने


मोरङ, फागुन १३।  माेरङ-६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. शेखर काेइरालाले स्वास्थ्य, शिक्षा र भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर यसका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले सरकारी अस्पतालको सेवा विस्तार, स्थानीयस्तरमै कलेज स्थापना तथा सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कार्ययोजना अघि सार्नुभएको छ । बुधबार क्षेत्रीय सभालाई सम्बोधन गर्दै शेखर कोइरालाले स्थानीय सरकारी अस्पतालमा अझै संरचनात्मक र प्राविधिक सुधार आवश्यक रहेको बताउनुभयाे। विशेषगरी ल्याब तथा रगत परीक्षण सेवामा देखिएको समस्याका कारण सामान्य परीक्षणका लागि समेत बिरामी बाहिर जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले आधुनिक उपकरणसहितको पूर्ण ल्याब सेवा स्थापना प्राथमिकतामा राखिने बताउनुभयो। ‘सामान्य जाँचका लागि बिरामीले अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ’, उहाँले भन्नुभयो।

स्वास्थ्य सेवाकै सन्दर्भमा उहाँले आफ्नी आमाद्वारा सञ्चालन भइरहेको संस्थामार्फत भुरिगङ्गाका हरेक वडामा मासिक रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको जानकारी दिनुभयो। ती शिविरमा उपलब्ध सेवा–सुविधा धेरै स्थानमा समेत सहज रूपमा नपाइने उल्लेख गर्दै आगामी दिनमा यस्ता सेवामूलक कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइने उहाँले स्पष्ट पार्नुभयो।

शिक्षा क्षेत्रतर्फ उहाँले स्थानीयस्तरमै कलेज स्थापना गर्न पहल गरिने घोषणा गर्नुभयो। हाल विद्यार्थीहरू उच्च शिक्षाका लागि विराटनगर जान बाध्य रहेको उल्लेख गर्दै यसले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो भार परेको बताउनुभयो। ‘अब छोराछोरीले उच्च शिक्षा लिन घर–परिवारबाट टाढा जानुपर्ने बाध्यता हटाउनुपर्छ’, उहाँले भन्नुभयाे ।

सभामा उपस्थित सुकुम्बासी समुदायलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी समस्या देशव्यापी चुनौती भए पनि स्थानीयस्तरमा निष्पक्ष र पारदर्शी समाधानका लागि आफू अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्बन्धित आयोगका केन्द्रीय पदाधिकारीलाई क्षेत्रमै ल्याई लालपुर्जा वितरण प्रक्रियालाई पारदर्शी रूपमा अघि बढाइने उहाँले बताउनुभयो।

उहाँले विकास निर्माणका विभिन्न कामहरू अघि बढिरहेको उल्लेख गर्दै सडक, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत क्षेत्रमा भएका प्रगतिलाई निरन्तरता दिइने बताउनुभयो। सभामा महिलाहरूको उल्लेखनीय उपस्थितिलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै काेइरालाले महिला उद्यमशीलता प्रवर्द्धनका लागि तालिम र सहयोग कार्यक्रम सञ्चालन गरिने जानकारीसमेत दिनुभयो।