झापा, फागुन १३। झापाको गौरीगञ्ज–५ श्यामाटोलीमा बुधबार आयोजित भेटघाट कार्यक्रममा स्थानीय बासिन्दाले केपी शर्मा ओलीप्रति स्पष्ट समर्थन जनाउँदै विकासका कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीसँगको प्रत्यक्ष संवादका क्रममा स्थानीयले विगतदेखि नै एमालेप्रति आफ्नो विश्वास कायम रहेको र यसपटक पनि सोही विश्वासलाई निरन्तरता दिने धारणा राख्नुभएको हो।
स्थानीयले आफूहरू लामो समयदेखि एमाले समर्थक रहँदै आएको उल्लेख गर्दै यसपटक पनि सूर्य चिन्हमै मतदान गर्ने अडान व्यक्त गर्नुभयो। उहाँहरुले साे क्षेत्रका सडक विस्तार र विद्युत् सेवामा सहज पहुँच सुनिश्चित गरिदिन आग्रह गर्नुभयो।
त्यसैगरी, स्थानीयले पूर्वाधार विकासमा ओलीकै पहल उल्लेखनीय रहेको दाबी गर्दै बाँकी विकासका कामलाई पूर्णता दिन पुनः अवसर दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। “जसले विकास गर्छ, मत पनि उसैलाई दिनुपर्छ,” उहाँहरुको भनाइ छ।
रतुवा खोलाको तटबन्धनलाई थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै स्थानीयले आगामी दिनमा यी अधुरा काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो।
सीमावर्ती गौरीगञ्जको उक्त गाउँमा अध्यक्ष ओली पुग्दा राजवंशी, सन्थाललगायत आदिवासी समुदायका स्थानीयले हर्षोल्लासपूर्वक स्वागत गर्नुभएको थियो। काखे नानी च्यापेर आएका महिलाहरूले समेत मातृभाषामै संवाद गर्दै आफ्ना अपेक्षा र सुझाव राख्नुभएको थियाे । स्थानीयको सक्रिय सहभागिता र स्पष्ट अपेक्षासँगै गौरीगञ्ज क्षेत्रमा चुनावी माहोल थप चहलपहलपूर्ण बन्दै गएको छ।













प्रतिक्रिया दिनुहोस्