जनता टाइम्स

१३ फाल्गुन २०८२, बुधबार १५:५६

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक : चुनावका लागि तीन दिन बिदा, सुरक्षाकर्मी घाइते भए उपचार खर्च सरकारले बेहोर्ने


काठमाडौं, फागुन १३ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै २०८२ फागुन १२ गते बसेको बैठकका निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक गर्नुभएको हो।

निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साथै निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने र सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय पनि गरिएको छ।

मन्त्रिपरिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चीन सरकारबाट प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यस निर्णयलाई निर्वाचन व्यवस्थापन सुदृढीकरणसँग जोडेर हेरिएको छ।

त्यस्तै, चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकी–वसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजनासम्बन्धी कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने निर्णय पनि गरिएको छ।

बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरिएको छ।

ऊर्जा पूर्वाधारअन्तर्गत केराबारी–न्यु मर्स्याङ्दी–दरौँदी करिडोर १३२ केभी प्रसारण लाइन, माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना तथा सेती खोला जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न तथा रुख–पोल हटाउन स्वीकृति दिइएको छ।

बीमा ऐन, २०७९ को दफा (४) बमोजिमको कसूरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय गरिएको छ। यसबाट बीमा क्षेत्रका मुद्दा छिटोछरितो रूपमा टुंग्याउने अपेक्षा गरिएको छ।

न्याय सेवा आयोगको सिफारिसअनुसार दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि भएको छ।

मन्त्रिपरिषद्ले २०८२ चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने २१औँ इन्टरपोल एनुअल हेड्स अफ एनसीबी कन्फरेन्समा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति दिएको छ।

त्यसैगरी, न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोगको ७०औँ सम्मेलनमा फागुन २५ देखि चैत ५ गतेसम्म सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ।

भारतमा हुने ‘रायसिना इनसाइट्स फोरम २०२६’ कार्यक्रममा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई सहभागी हुन स्वीकृति दिइएको छ भने बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ समारोहमा सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमणलाई समर्थन गरिएको छ।

सुर्खेतको वीरेन्द्रनगरमा फागुन १ देखि ७ गतेसम्म आयोजना गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय भएको छ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ असार मसान्तसम्म निरन्तरता दिँदै उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्न बाधा अडकाउ फुकाउने आदेश जारी गरिएको छ।

नेपाल सरकारका सचिव डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिँदै उहाँहरूको योगदानप्रति धन्यवाद ज्ञापन गरिएको छ। साथै राजपत्रांकित विशिष्ट श्रेणीका ६ जना अधिकृतको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।

सरकारले नेपाललाई ओइसीडीको ‘ग्लोबल फोरम अन ट्रान्सपेरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पोज’को सदस्यता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसलाई कर प्रशासनमा पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सूचनाको आदानप्रदानतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।